३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

काठमाडौं, जेठ २ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई उकास्न सरकारको ध्यानकेन्द्रित हुने अपेक्षा गरिएपनि स्पस्ट मार्गचित्रको अभाव देखिएको छ ।

नीति तथा कार्यक्रममा अर्थतन्त्र पुनर्उत्थानका लागि महामारीका कारण सबै क्षेत्रमा परेको प्रभावलाई अध्ययन गरेरमात्र अघि बढ्ने उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले कोरोना महामारीले सरकारको लक्ष्य र योजनामा धक्का लाग्दा योजना प्राथमिकता बदलिएको उल्लेख गरिन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिइएको छ ।

कोरोनाका कारण कसैको पनि ज्यान जान नदिने गरी र मुलुकलाई कोरोना महामारीमुक्त बनाउने योजना सार्वजनिक गरिएको छ ।

महामारी नियन्त्रणका लागि संक्रमण परीक्षणका दायरा व्यापक बनाइने छ ।

त्यसैगरी, आर्थिक क्रियाकलाप, उत्पादननशील क्षेत्र र सामाजिक जीवनमा थप क्षति हुन नदिने प्रतिबद्धता नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विदेशमा रोजगारी गुमाएकाहरुलाई स्वदेशमै कृषि र निर्माण क्षेत्रमा रोजगारी दिने प्रतिबद्धता नीति तथा कार्यक्रममा गरिएको छ ।

विश्व अर्थतन्त्रको संरचनामा परिवर्तन, आयातमा कमी आउनसक्ने भएकाले अधिकतम् आन्तरिक स्रोत परिचालन गरिने सरकारको तयारी छ ।

उद्यम गर्न सुरुआती पुँजी उपलब्ध गराउने, सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत नीति तर्जुमा गर्नेलगायतका कार्यक्रम समावेश गरिएको छ ।