३० असार २०८२, सोमबार | Tue Jul 15 2025


भगवान शिवको अपमान गरेको भन्दै माग्ने बुढाको आलोचना, मागे माफी


3.601k
Shares

काठमाडौं । टेलिभिजन शो ‘कमेडी हब’मा भगवान शिवको अपमान गरेको भन्दै आलोचना भएपछि केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन् ।

कार्यक्रमको दशौं भागको ट्रेलरमा भगवान शिव र युवतीको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि कार्यक्रमका निर्देशक घिमिरेले माफी मागेका हुन् ।

निर्देशक घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत अञ्जानमा आफूहरूबाट त्रुटी भएको भन्दै क्षमा मागेका हुन् । साथै उनले ट्रेलरको उक्त दृश्यलाई फेसबुक, टिकटक र युट्युबबाटसमेत हटाइसकेको बताएका छन् ।

‘कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरूले देखाउनुभएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘अन्जानमै हामीबाट भएको त्रुटीप्रति सम्पूर्ण दर्शकसमक्ष हामी क्षमा माग्छौं, साथै सम्पूर्ण दर्शक, शुभचिन्तकहरूको सल्लाहबमोजिम यो विषयवस्तुहरूलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं । बम बम भोले । जय भोले ।’

भगवान शिवलाई मजाकको पात्रको रूपमा प्रस्तुत गरिएको र भगवान शिवलाई युवतीसँग मस्किएको देखाएपछि विवाद बढेको हो । शो कारण हिन्दु धर्म मान्ने करोडौं नेपालीहरूको आस्थामा ठेस लागेको भन्दै शोको प्रसारण रोक्नुपर्नेसमेत माग भएको थियो ।