
काठमाडौं । स्विडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा स्विडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै फाइनलमा पुगेको हो ।
इंग्ल्यान्डको ब्रमाल लेन सेफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले समान १–१ गोल गरे ।
पहिलो हाफमा १–० को अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।
खेलको ३४ औं मिनेटमा मिडले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाइन् । ४८ औं मिनेटमा लुरीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । ६८ औं मिनेटमा एलेसियाले गोल गर्दै घरेलु टोलीलाई ३–० को अग्रता दिलाइन् । त्यसपछि ७६ औं मिनेटमा किर्विले गर्दै इंग्ल्यान्डलाई फराकिलो जित दिलाइन् ।
अपराजित इंग्ल्याण्डले अब उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग यही साउन १५ गते प्रतिस्पर्धा गर्नेछ । सन् २००९ पछि इंग्ल्याण्डको महिला टिम कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
दोस्रो सेमिफाइनल खेल आज बुधबार राति फ्रान्स र जर्मनीबीच हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्