३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कृषि र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव


0
Shares

काठमाडौं, वैशाख ३० । सांसदहरुले आगामी बजेटमा कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले कृषि नै देश विकासको मुख्य आधार भएकाले यस क्षेत्रमा अनुदान र प्राविधिकरणको व्यवस्थासहित लगानी बढाउन माग गरेका हु्न् ।

बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोनाका कारण सरकारको खर्चमा शिथिलता आउँदा अर्थतन्त्र प्रभावित भएको भन्दै यसलाई उठाउन ठोस योजना आवश्यक रहेकोमा जोड दिए ।

सांसद प्रदीप यादवले करको दायरा बढाइ उद्योग–व्यवसायलाई राहत दिनुपर्ने बताए ।

ठूला उद्योगलाई कम्तीमा छ महिना ब्याजमा छुट दिन उनले सुझाए ।

सांसद उमेश श्रेष्ठले बजेटको आकार सानो बनाउन, स्वास्थ्य क्षेत्रमा सीपअनुसारको उद्योग खोल्ने वातावरण बनाउने कार्यक्रम ल्याउन आग्रह गरे ।

सांसद कृष्णभक्त पोखरेलले सरकारी बैंकलाई पाँच वर्षसम्म नाफा नकमाउने गरी कृषि क्षेत्रमा लगानी बढाउने वातावरण बनाउन र निजी बैंकलाई पनि धेरै नाफामुखी बन्न नदिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।

बेरोजगार व्यक्तिलाई प्रतिदिन कम्तीमा २०० का दरले भत्ता दिने व्यवस्था गर्न पनि पोखरेलले माग गरे ।

सांसद कल्याणीकुमारी खड्काले जुनसुकै क्षेत्रमा पनि खर्च गर्नसक्ने अवस्था हेरेरमात्रै बजेट विनियोजन गर्न सुझाव दिइन् ।

सांसद लालबाबु पण्डितले कृषि, स्वास्थ्य, रोजगारी सिर्जना तथा रुग्ण उद्योगलाई प्राथमिकता दिएर सानो आकारको बजेट ल्याउन सुझाव दिए ।

वैदेशिक रोजगारीबाट फर्केकालाई व्यवसायमा आकर्षित गर्ने नीति तर्जुमा गर्न पनि उनले ध्यानाकर्षण गराए ।

आगामी आर्थिक वर्षमा १२ लाखलाई थप रोजगारी दिनसक्ने गरी बजेट निर्माण गर्न सांसद पण्डितले सुझाए ।