Logo २२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025


नेपाल चिकित्सक संघको आन्दोलन तत्काललाई स्थगित


0
Shares

काठमाडौं, साउन ३१ । अपराध संहिता ऐनमा रहेको चिकित्सा पेसासम्बन्धी प्रावधानको विरोधमा भदौ १ गतेदेखि गर्ने भनिएको आन्दोलन नेपाल चिकित्सक संघले स्थगित गरेको छ ।

संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी भदौ १५ गतेसम्म उक्त ऐनमा रहेको व्यवस्था संशोधन नभए एप्रोन र लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने जनाएको हो ।

साथै, संघले देशभरमा चिकित्सकहरुलाई लाइसेन्स जम्मा गर्नसमेत आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मुलुकी अपराध संहितामा रहेको दफा २३०, २३१, २३२, २३८ र २३९ ले चिकित्सकलाई अपराधीकारुपमा व्याख्या गरेको भन्दै त्यसलाई संशोधन गर्न माग गरे ।

संघले मुलुकी अपराध संहिताको दफा २३२ मा ‘लापरबाही वा हेलचेक्र्याइँ, बद्नियत चिताइ इलाज गर्न नहुने’ शब्दलाई पुष्टि गर्न ‘विशेषज्ञ समिति बनाइ छानबिन गर्नुपर्ने’ भन्ने थप गर्नुपर्ने माग गरेको छ ।

यस्तै, कार्यक्षेत्रमा रहेका स्वास्थ्यकर्मीलाई हातपात गरेको खन्डमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई संशोधन गरी बिनाधरौटी हिरासतमा राख्ने व्यवस्था सुनिश्तिच गरिनुपर्ने माग पनि गरिएको छ ।