Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि जुट्यो स्रोत


0
Shares

रमेश लम्साल (रासस)

काठमाडौं, वैशाख ३० । संघीय राजधानी काठमाडौंसँग सहज सम्पर्कका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको सम्मानमा वाग्मती प्रदेश सरकारले सो सुरुङमार्गको नाम पोष्टबहादुर बोगटी सुरुङमार्ग तय गरेको छ ।

आयोजनाको कुल लागत रु १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार रहने अनुमान गरिएको छ ।

वाग्मती प्रदेश सरकारको रणनीतिक महत्वको आयोजनाका रूपमा रहेको सो सुरुङमार्गलाई बहुवर्षीयरुपमा स्रोतको व्यवस्थापन गरिएको हो ।

प्रदेश सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको पत्र आर्थिक मामिला तथा योजना मन्त्रालयले यही वैशाख २८ गते आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ ।

स्रोत सुनिश्चित भएपछि प्रदेश सरकारले सुरुङमार्ग निर्माणको काम अगाडि बढाउने तयारी थालेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको पत्रमा चार आर्थिक वर्षमा खर्च गर्नेगरी स्रोतको व्यवस्थापन गरिएको छ ।

सो परियोजनाका लागि आर्थिक वर्ष २०७७/७८ देखि आव २०८०/८१ सम्म खर्च गर्नेगरी स्रोतको व्यवस्थापन गरिएको छ ।

अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् निर्माण व्यवसायी र सुपरीवेक्षण परामर्श सेवासमेत छनोट गर्ने तयारीमा रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बहुवर्षीय गुरुयोजना स्वीकृत गर्नुपूर्व स्रोत सुनिश्चितताका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयकै बजेट ‘सिलिङ’भित्र रहने गरीमात्र प्रदान गरिएको जनाएको छ ।

सो मन्त्रालयको अन्य कार्यक्रममा पर्ने प्रभावको प्रक्षेपण गर्ने, स्वीकृत भएका बहुवर्षीय योजनाका लागि आगामी वर्षमा मन्त्रालयको सिलिङभित्रै रहने गरी प्राथमिताका साथ बजेट विनियोजन गर्ने र सिलिङभन्दा थप बजेट स्वीकृत नहुने व्यवस्था गरिएको छ ।

सम्पूर्ण स्वीकृत बहुवर्षीय गुरुयोजनालाई मन्त्रालयको मध्यकालीन खर्च संरचनामा समावेश गरिने भएको छ । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा समावेश गरेको छ ।

सो आयोजनाका लागि वाग्मती प्रदेश सरकारले चालू आवमा समेत बजेटको व्यवस्था गरेको थियो ।

यसअघि, सो आयोजना नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको लगानी रहेको पूर्वाधार विकास कम्पनीले निर्माण गर्नेगरी स्वीकृति लिएको थियो । स्रोतको व्यवस्थापन गर्न नसकेका कारण आयोजनाले गति लिन सकेको थिएन ।

वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको निर्णयअनुसार नै स्रोतको व्यवस्थापन भएको जानकारी दिए ।

उनले भने–‘अन्तर्राष्ट्रिय बोलपत्रको तयारी भइसकेको छ । केही समयभित्रै बोलपत्र आह्वान हुन्छ ।’

भीमफेदी गाउँपालिका–६, बगर र इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी जोड्ने गरी ३.२१ किलोमिटर लामो सुरुङ निर्माण गर्न लागिएको हो ।

सुरुङमार्ग दुई लेनको हुनेछ । सुरुङको चौडाइ १५ मिटर हुनेछ । दुवै लेन साढे सात मिटर फराकिलो हुने बताइएको छ ।

सुरुङको दुवैतिर गरी साढे दुई किलोमिटर लामो सहायक सडक र तीनओटा पुल निर्माण हुनेछ ।

सम्झौता भएको ४२ महिनामा काम सक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गले भीमफेदी–कुलेखानी सडकको दूरी १७ किमिले छोटिनेछ ।

प्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग ६५ किलोमिटरमा सीमित हुनेछ ।

उच्च जोखिम, घुमाउरो र साँघुरो खन्डमा तीन किमि सुरुङ बनाउन लागिएको प्रदेश सरकारले जानकारी दिएको छ ।

बहुवर्षीय योजनालाई आव २०७७/७८ मा रु दुई अर्ब, २०७८/७९ मा रु छ अर्ब, २०७९/८० मा रु छ अर्ब र २०८०/८१ मा रु चार अर्ब रहने गरी विनियोजन गरिने भएको छ ।

मन्त्री जम्मकट्टेलले कानुनी तथा प्राविधिक तयारी पूरा गरी प्रदेश सरकार आफैंले निर्माण गर्नेगरी प्रक्रिया सुरु भएको जानकारी दिए । सुरुङसँगै सिस्नेरीतर्फको सडकको स्तरोन्नति गरिनेछ ।

प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामाकरण गरेर यसको निर्माणको तयारी थालेको पनि झन्डै दुई वर्ष हुन लागेको छ ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले सो सुरुङ प्रदेश सरकारको प्राथकितामा रहेको बताउँदै निर्माणमा चासो व्यक्त गर्दै आएका छन् ।

सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ ।