Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


धाँधलीपूर्ण पत्रपत्रिका वर्गीकरण खारेज नगरे आन्दोलनः प्रेस युनियन


0
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण धाँधलीपूर्ण र पूर्वाग्रही भएको भन्दै नेपाल प्रेस युनियन काठमाडौं शाखाले आन्दोलनको चेतावनी दिएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन काठमाडौं शाखाले वर्गीकरणको नतिजा खारेज गर्न माग गरेको हो ।

शाखा अध्यक्ष नकुल अर्यालले प्रजिअमार्फत सञ्चार मन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको र माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रेस काउन्सिलको संपरीक्षण समितिको सिफारिस लत्याएर सरकार समर्थित पत्रपत्रिकाहरुलाई मात्रै उच्च वर्गीकरणमा पारिएको युनियनको आरोप छ ।

पत्रपत्रिका वर्गीकरणका दौरान दशकौं देखि निरन्तर प्रकाशित मूलधारकै पत्रपत्रिकालाई पनि वेवास्ता गरि आचारसंहिता उल्लंघनमा ख्याति कमाएका पत्रपत्रिकाले उच्च ग्रेड पाउनुले प्रेस काउन्सिलको निष्पक्ष भूमिमाथि प्रश्न उठेको छ’, युनियनको ज्ञापन पत्रमा भनिएको छ ।

‘सत्ताको घोडा’ बन्न तयार नरहेका व्यवसायिक पत्रिकाहरुलाई विभेदपूर्ण व्यवहार गरिएका कारण ज्ञापन पत्र बुझाइएको अध्यक्ष अर्यालले जानकारी दिए ।

सरकार निरन्तर प्रेसप्रति आक्रामक बनेको र सत्ताको गुनगान गाउने पत्रकारितालाई मात्रै प्रबद्र्धन गरिएको भन्दै अध्यक्ष अर्यालले प्रेस युनियन कडा प्रतिवादमा उत्रने बताए । 

नेपाल प्रेस युनियनका देशैभरका जिल्ला शाखाहरुले पनि विहीबार प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।