Logo २२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025


सेती अञ्चल अस्पतालको प्रसुति कक्षका चिकित्सकको लापरबाही (भिडियो)


0
Shares

-विराज रोस्यारा/ईमेज

कैलाली । कैलालीको सेती अञ्चल अस्पतालको प्रसुति कक्षमा चिकित्सक र कर्मचारीलाई उपचारमा लापरबाही गरेको आरोप लागेको छ ।

समयमा अस्पताल नआउने तथा बिरामी र बिरामी कुरुवासँग पनि राम्रो व्यवहार नगर्ने गरेको आरोप लागेको हो । जसका कारण बिरामी जोखिममा परेका परेका छन् ।

गत सोमबार कैलालीको सेती अञ्चल अस्पतालमा सुत्केरी गराउन पुगेकी कञ्चनपुरको पुनर्वास नगरपालिका–८ की २३ वर्षिया गिता रेग्मीले जन्माएको शिशुको मृत्यु भयो ।

केही दिन अगाडि अस्पताल आएकी उनको सामान्य अवस्था रहेको भन्दै डाक्टरले घर पठाएका थिए ।

त्यसपछि उनलाई आइतबार राती ९ बजे अस्पताल  पु¥याइयो तर डाक्टरले अवस्था सामान्य भएको भन्दै चेकजाँच समेत गरेनन् ।

तर सोमबार राती चेकजाँच गर्दा गम्भीर अवस्था देखिएपछि आइसीयुमा लगेर अप्रेसन गरियो र डाक्टरले नवजात शिशु मृत भएको घोषणा गरेको उनका श्रीमान् ओमप्रकाश रेग्मीको भनाइ छ ।

यो अप्रिय घटनामा सरसर्ती हेर्दा डाक्टरहरुकै लापरबाही रहेको स्पष्टै देखिन्छ । यो त एउटा प्रतिनिधि घटना हो यो भन्दा पहिले पनि यस्ता घटना भइरहेकै छन् ।

अस्पताल प्रशासनका अनुसार एक महिनामा यो अस्पतालमा ५ जना आमा र शिशुको मृत्यु भइसकेको छ ।

मृत्यु हुनुमा केबल डाक्टरको मात्र लापरबाही त नहोला तर डाक्टरहरुको बिरामीसँग गर्ने व्यवहार समेत उपयुक्त नभएको बिरामी कुरुवाकै गुनासो छ ।

त्यत्ति मात्रै होइन कतिपय चिकित्सकहरु अस्पतालमा भन्दा निजी क्लिनिकमै ध्यान दिने गरेको र ड्युटीको समयमा पनि क्लिनिकमै भेटिने गरेको बिरामीको आरोप छ ।

तर उनीहरु भने आवश्यक उपकरण र कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको बताउछन् ।

उपचारमा लापरबाही भएको विषयमा अस्पताल प्रशासनको उत्तर भने पहिलेदेखि नै एउटै छ ।

अस्पतालको क्षमता कम, कर्मचारी अभावका कारण गुणस्तरीय सेवा दिन नसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. कपिल गौतमको भनाइ छ ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि चरम लापरबाहीले धेरैको अकालमै ज्यान गएको छ ।

यसतर्फ अस्पताल प्रशासन र सम्बन्धित चिकित्सक गम्भीर बन्नैपर्छ ।