Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कर्णालीमा कोरोना परीक्षण प्रभावित (भिडियो)


0
Shares

मानबहादुर वली (इमेज)

सुर्खेत, वैशाख २४ । कर्णाली प्रदेशमा कोरोना परीक्षण प्रभावित बनेको छ ।

‘भीटीएम’ र ‘प्रोसेसिङ किट’जस्ता प्रयोगशाला सामग्री सकिएपछि परीक्षण प्रभावित भएको छ भने १४ दिन ‘क्वारेन्टाइन’ बसेका व्यक्ति परीक्षण नगराइ घर फर्किएका छन् ।

छिमेकी जिल्ला बाँकेको नेपालगन्जमा कोरोना संक्रमितको संख्या अचानक बढेपछि कर्णाली प्रदेशमा पनि त्रास बढेको छ ।

कर्णाली प्रदेशका सुर्खेत र जुम्लाबाट कोरोना परीक्षण सुरु गरिएपनि प्रयोगशालामा आवश्यक भीटीएम र प्रोसेसिङ किटजस्ता सामग्रीको अभाव छ ।

मागअनुसार ‘आरडीटी’ किट र ‘पीसीआर’का लागि प्रयोगशाला सामग्री नआउँदा स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिको नमुना परीक्षणबिना नै पठाइएका छन् ।

१४ दिनको क्वारेन्टाइन बसेका व्यक्ति परीक्षणबिनै घर जाँदा समुदायमा कोरोना त्रासको फैलिएको छ ।

सीधा सम्पर्क जोडिएको बाँकेमा कोरोना फैलिएपछि कर्णाली प्रदेशलाई सात दिनका लागि ‘सिल’ गरिएको छ ।

सुर्खेत जिल्लाका ९ ओटा स्थानीय तहमा एक हजार ४०० व्यक्ति ‘लकडाउन’ भएपछि फर्किएपनि परीक्षणका लागि ३०० किटमात्र बाँकी रहेका छन् ।

प्रदेशमा लकडाउन अवधिमा १० हजार ३३२ नागरिक प्रदेश भित्रिएको प्रहरीको तथ्यांक रहेको छ ।

परीक्षण तीव्र पार्ने भन्दै प्रदेश अस्पताल सुर्खेत र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जोडिएका ठूलो क्षमताका आरटी–पीसीआर मेसिन स्वाब संकलन गर्ने किट अभावमा परीक्षण प्रभावित बनेका छन् ।

स्वास्थ्य निर्देशनालयकाअनुसार प्रदेशभर पाँच हजार ३०० जनाको आरडीटी र एक हजार ६९ जनाको पीसीआर परीक्षण भएको छ ।

भिडियो हेर्नुहोस्