– विराज रोस्यारा/ इमेज
कैलाली । सुदूरपश्चिम प्रदेशमा भारतबाट मात्रै झण्डै डेढ लाख मानिस भित्रिएका छन् ।
विदेशबाट भित्रिएका सबैको र्यापिड टेस्ट गर्ने र परीक्षणको दायरा बढाउने गरी प्रदेश स्वास्थ्य निर्देशनालयले तयारी थालेपनि हाल परीक्षण सुस्त छ ।
भारत सहित विभिन्न जिल्लाबाट फर्किएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखिएपनि नमूना संकलन र परीक्षणको काम भने भएको छैन ।
सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेशमै केन्द्रित भएको कोरोना भाइरसले त्रास फैलाएसँगै यस प्रदेशमा नेपाली सेनाको टोली, काठमाडौंबाट आएको टोलीसँगै यहाँ रहेका स्वास्थ्यकर्मीले धमाधम कोरोना परीक्षण सुरु गरेका छन् ।
सम्बन्धित जिल्ला तथा स्थानीय तहमै गएर स्वाब संकलन तथा र्यापिड टेस्ट गरिएपनि हाल कोरोना परीक्षण सुस्ताएको हो ।
धनगढीमा दुईवटा प्रयोगशाला स्थापना गरिएको भएपनि नमूना संकलन नै नहुने समस्याले परीक्षणको कामले गति लिएको छैन ।
पीसीआर प्रविधि मात्र नभएर सुदूरपश्चिममा र्यापिड टेस्ट आरडीटी परीक्षण पनि निकै सुस्त छ ।
थ्रोट स्वाबको नमूना संकलन कम हुँदा प्रयोगशालाको क्षमताअनुसार जाँच हुन नसकेको प्रयोगशाला इन्चार्ज रमेश शाही बताउँछन् ।
सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालन भइरहेको प्रयोगशालामा क्षमताअनुसार नमूना जाँच गर्न प्राविधिक जनशक्तिको पनि अभाव छ ।
सरकारले सुदूरपश्चिममा कोरोना परीक्षण गर्न २ वटा प्रयोगशाला स्थापना गरेको भएपनि दक्ष जनशक्तिको अभाव रहेको छ ।
अहिले प्रयोगशालामा चार जना प्राविधिक मात्रै कार्यरत छन् । सुदूरपश्चिमको वास्तविक स्थिति थाहा पाउन परीक्षण बढाउनुपर्ने सुझाव चिकित्सकहरुको छ ।
कुनै लक्षण नै नभएका मानिसमा समेत कोरोना भाईरसको संक्रमण देखिरहेका बेला कतै भित्र भित्रै फैलिरहेको त छैन भन्ने आशंका समेत बढ्दै जान थालेको छ ।
प्रदेश सरकारले परीक्षणलाई गति दिन नसक्नुको कारणका रुपमा र्यापिड टेस्ट र थ्रोक स्वाब राख्न आवश्यक पर्ने भिटीएमको अभाव देखाउँदै आएको छ ।








प्रतिक्रिया दिनुहोस्