
प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)
काठमाडौं, साउन ३० । भदौ १ गतेदेखि लागू गर्न लागिएको मुलुकी संहिता ऐनले पत्रकारिता क्षेत्रलाई संकुचित पारेको भन्दै सन्चारकर्मीहरुले गुनासो गरेका छन् ।
सार्वजनिक सरोकारको विषयमा सूचना पाउने जनताको अधिकारलाई कुन्ठित पार्ने किसिमले कानुन ल्याएको आरोप पनि सन्चारकर्मीहरुले लगाएका छन् ।
फौजदारी संहिता र देवानी संहिताका केही व्यवस्थाले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पे्रस स्वतन्त्रतालाई संकुचित पारेको भन्दै वरिष्ठ पत्रकारहरुले गुनासो गरेका छन् ।
फौजदारी संहितामा उल्लेखित भएका बुँदाहरुले संविधानको धारा १७ को २ ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई केही हदसम्म संकुचित गरेको उनीहरुको भनाइ छ ।
पत्रकार महासंघका पूर्वअध्यक्ष एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले नयाँ कानुनले मानिसको बोल्न–लेख्न पाउने अधिकारलाई संकुचित पारेको बताए ।
यही कानुनअनुसार नै जाने हो भने प्रेसमाथि नियन्त्रणको खतरा बढ्ने उनको जिकिर रहेको छ ।
अपराध संहिताको दफा २९३ देखि ३०८ सम्म गोपनीयताविरुद्धको कसुरमा तस्वीर खिच्न, ध्वनी रेकर्ड गर्न र कतिपय कुरा प्रकाशन/प्रसारण नै गर्न नहुनेजस्ता प्रावधान राखिएको छ ।
संहिताको दफा २९३ मा कसैले दुई वा दुईभन्दा बढी व्यक्तिकाबीचमा भएका कुनै कुरा अधिकारप्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको अनुमतिबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनी अंकन गर्न नहुने व्यवस्था रहेको छ ।
पत्रकार महासंघका पूर्वअध्यक्ष एवं खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले सार्वजनिक सरोकार र सार्वजनिक पदाधिकारीसँग जोडिएको विषयलाई अनुसन्धान गरी बाहिर ल्याउनै रोक्नुले पत्रकारिता पेसालाई असरपार्ने बताए ।
संहिताको दफा २९५ मा अनुमतिबिना कुनै व्यक्तिको तस्वीर खिच्च वा तस्वीरको स्वरुप बिगार्न नहुने व्यवस्था रहेको छ ।
त्यसलाई कसुर मानेर एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
कतिपय सन्दर्भमा अभिव्यक्ति दिएको, लेखेको वा प्रसारण गरेको विषयलाई पनि संहिताले अपराध मानेको छ ।
सार्वजनिक विषयवस्तुलाई उठान गर्नु प्रेसको दायित्व हुने भन्दै दुवैजना पूर्वअध्यक्षहरुले त्यसलाई नै असरपार्ने गरी कानुन ल्याउनुले खोजी पत्रकारितालाई संकुचित गर्ने खतरा बढेको बताएका छन् ।
समाजमा लुकेर रहेका वा लुकाउन खोजिएका घटना सार्वजनिक गर्नु नै पत्रकारको दायित्व हो ।
प्रतिक्रिया दिनुहोस्