
काठमाडौं, असार २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ ।
बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली यही असार ५ गते छिमेकी चीनको भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पहिलो स्थायी समिति बैठकले विगतमा चीनसँग भएको दुई पक्षीय सहमतिको कार्यान्वयन र सम्बन्धलाई थप विकास हुने अपेक्षा व्यक्त गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टी एकताको उत्साहलाई देशव्यापी बनाउन र संगठनात्मक संरचनालाई चाँडो किनारा लगाउन बैठकले जोड दिएको छ । बैठकमा सरकारको बजेट, नीति तथा कार्यक्रम र कार्यप्रगतिबारे समीक्षा भएको छ ।
हालसम्मका सरकारका काम सन्तोषजनक भएको र देखिएका कमजोरीलाई आत्मसमीक्षा गर्दै प्रभावकारी बनाउने निर्णय भएको छ ।
बैठकमा दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालले जनचाहनाबमोजिम सरकारलाई थप प्रभावकारी बनाउन र सिंगो पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए ।
बैठकले पार्टी नियमावलीबारे १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यको सुझाव लिइ अन्तिमरुप दिन सचिवालयलाई जिम्मा दिएको छ ।
बैठकमा महासचिव विष्णु पौडेलले एकतापछिको सांगठनिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भइ नेकपा गठन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्