
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, साउन ३० । लगातारको वर्षाका कारण कालीगन्डकी नदीमा तीन वर्षयताकै सबैभन्दा धेरै पानीको सतह बढेको छ ।
हिमालपारीको जिल्ला मुस्ताङ, म्याग्दी र पर्वत हुँदै बहने कालीगन्डकीको बुधबार पानीको सतह बढेको हो ।
बुधवार बिहान पानीको सतह बढेर एक हजार ९०० क्युसेक पुगेको हो ।
मंगलबार बिहानसम्म एक हजार १०० क्युसेकसम्म रहेको सतह मंगलबार रातिको भारी वर्षासँगै ह्वात्तै बढेको हो ।
एकै दिनमा ८०० क्युसेकसम्म पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।
कालीगन्डकीमा पानीको सतह उच्चतम् दुई हजार ५०० देखि तीन हजार क्युसेकसम्म पुग्ने गरेको कालीगन्डकी ‘ए’ जलविद्युत् परियोजनाले जनाएको छ ।
यसअघि, वि.सं. २०७२ सालमा एक हजार ९०० क्युसेककै हाराहारीमा पानीको सतह पुगेको थियो ।
पर्वत, स्याङ्जा र गुल्मीको सिमाना सेतीवेणीमा भने पाँच हजार क्युसेकसम्म पनि सतह पुग्ने गरेको आयोजनाले जनाएको प्रजिअ ढकालले जानकारी दिए ।
निरन्तरको वर्षासँगै सतह ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीलगायतको टोलीले पर्वतको सदरमुकाम कुस्माबजारदेखि म्याग्दीको सदरमुकामसम्म बुधबार बिहान स्थलगत अनुगमन गरी जोखिमपूर्ण बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
वर्षा नरोकिएकाले जुनसुकै बेला पनि नदीको सतह खतराको विन्दुसम्म पुग्नसक्ने भन्दै उच्च सतर्कता अपनाउन नदी किनारका बस्तीहरुमा पुगेर आग्रह गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
पर्वतका जलजलास्थित वारीबेनी, बगरफाँट, लस्ती, खनियाघाट, मालढुंगा, अर्मादी, मोदीवेणी, तथा बागलुङको जैमिनीघाट तथा पर्वतकै इमिचौर र सेतीवेणीबजार कालीगन्डकीको बहावका कारण खतरामा परेका छन् ।
ती क्षेत्रका बासिन्दालाई रातिको समयमा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्