Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


दैनिक पाँच हजार सर्वसाधारणलाई निःशुल्क भोजन


0
Shares

गृष्मा राजभण्डारी र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, वैशाख २० । चालीस दिनदेखिको ‘लकडाउन’ले उपायविहीन भएकाहरु बिहान–बेलुकाको छाक टार्नकै लागि अरुको आश्रयमा पुग्न बाध्य हुनथालेका छन् ।

यस्तै समस्यामा परेकाहरुलाई काठमाडौं, गोकर्णको नयाँबस्तीमा मेट्टा होप एन्ड च्यालेन्ज फर ह्युमानिटीजले देशमा लकडाउन सुरु भएदेखि वडा युवा समूहको सहकार्यमा एकसाथ वडा नम्बर–५ र ६ को सात ठाउँमा दैनिक पाँच हजार सर्वसाधारणलाई निःशुल्क भोजनको व्यवस्था गरिरहेको छ ।

४० दिनदेखिको बन्दाबन्दीका कारण मानिसको जनजीवन अस्तव्यस्त हुनथालेको छ । श्रम गरेर गुजारा गर्नुपर्ने वर्गलाई हातमुख जोर्ने समस्या भइसकेको छ ।

हुने–खानेहरुका लागि लकडाउनले खासै असर नगरेपनि हुँदा खान पाउनेहरु सडकमा पुग्ने अवस्था आइसक्यो ।

कति त बिहान–बेलुकीको भोक टार्न नै अरुको आशमा पर्न बाध्य भएका छन् ।

यद्यपि, यस्तो संकटका बेला मानवीय भावना भएकाहरु सहयोगका लागि अगाडि आएका छन् ।

तिनैमध्येले गरेका हुन्, गोकर्ण, नयाँबस्तीमा विपन्न वर्गलाई निःशुल्क भोजनको व्यवस्था ।

यस्ता मानवीय भावना भएकाहरुले देशका अरु ठाउँमा पनि सहयोगी हात बढाएका छन् ।

सुरुमा राहत वितरणमा लागेकाहरु पछिल्लो समय निःशुल्क भोजन गराउन थालेका छन् । जसका कारण खाना खानबाटै बन्चित बन्ने बाध्यतामा परेकाहरुलाई ठूलो राहत भएको छ ।

नयाँबस्तीको युवा क्लबलाई सदुपयोग गरी गोकर्णेश्वर नगरपालिका जोरपाटीले स्थानीय दाताहरुको सहयोगमा निःशुल्क भोजन गराउन थालेको नै एक महिनाभन्दा बढी भइसकेको छ ।

यहाँ खाना खान आउने जो–कोहीको ज्वरो नाप्नुका साथ सामाजिक दूरी कायम गराइन्छ । खाना खुवाउन वडाध्यक्ष नारायण भण्डारी आफैं सक्रियरुपमा लागेका छन् ।

यहाँ खान आउनेमा केटाकेटीको समूह बढी छ । केही मजदुर र तीनका परिवार छन् ।

यहीँ बिहान–बेलुकी नियमित सादा खाना खाइरहेकी ७२ वर्षीया सानुकान्छीलाई मासु खाने चाहना भएपनि नपाएको गुनासो पनि पोखिन् ।

अप्ठ्यारोमा परेका समयमा मनकारी हातहरुले गरेको सेवाप्रति कृतज्ञ हुनेहरु पनि उत्तिकै छन् ।

बिहान ९ बजेदेखि साढे १० र साँझ साढे ४ देखि ५ बजेसम्म खाना खान यहाँ दैनिक १३ सय जना आउने गरेको स्थानीय युवा रामकुमार तामाङ बताउँछन् ।

बन्दाबन्दीका कारण दैनिक काम नपाउँदा भोकै बस्नुपर्ने अवस्थामा पुगेकाहरु निःशुल्क खाना खान पाउँदा खुसी छन् ।

लगातारको बन्दाबन्दीले व्यक्तिदेखि मुलुकसम्मको अर्थतन्त्रको ढाड भाँच्चिसकेको छ । यस्तोमा सरकारले विकल्प खोज्न ढिला नगरोस् ।

भिडियो हेर्नुहोस्