Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


दैनिक ६ हजार जनालाई निःशुल्क खाना खुवाउँदै मध्यपुर थिमि नगरपालिका


0
Shares

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले दैनिक करिव ६ हजार जनालाई निःशुल्क खाना खुवाइरहेको छ ।

कम्तीमा ६० जना स्वयंसेवक खटिएर नगरका तीन ठाउँबाट सेवा दिइरहेको स्वयंसेवक तथा जनप्रतिनिधि हरिदास प्रजापतिले जनाए ।

‘अहिले बहाखा बजारस्थित एभरेस्ट पार्टी प्यालेस, सिद्धिकाली चोकको शुभश्री र बोडेको सिन्टिटारबाट खाना खुवाउँदै छौं’, प्रजापतिको भनाइ छ ।

सरकारले घोषणा गरेको लकडाउनसँगै दैनिक मजदुरी गुमेकोले आम्दानीको स्रोत नभएर पनि अधिकांस मजदुर निःशुल्क खाना खान बाध्य भएका छन् ।

मानवधर्मको रुपमा गरिँदै आएको भोकालाई खाना खुवाउने अभियानमा साथ र सहकार्य गर्ने सबैलाई प्रजापतिले धन्यवाद दिए ।

त्यस्तै, वैशाख ११ गतेदेखि निरन्तर स्वयंसेवा गर्दै आएका समाजसेवी राजेश मानन्धरले छिमेकी पालिकाबाट समेत मजदुरहरु खानाको लागि आउने गरेको दाबी गरे ।

हरेक दिन बिहान र बेलुकी व्यवस्थित रुपमा प्याकेट बनाएर खाना वितरण गरिँदै आएको मानन्धरले जानकारी दिए ।

निःशुल्क खानाको लागि कसरी आर्थिक व्यवस्थापन गर्नुभएको छ भनी सोधिएको प्रश्नमा उनले अहिलेसम्म स्वस्फूर्त सहयोग गर्ने दाताहरुले धानेको भएपनि यो क्रम लामो समय नचल्ने जनाए ।

नगरपालिकाको अभियान भएर नगरपालिकाले नै पेश्की दिएर समन्वय गर्न सके स्वयंसेवीहरुलाई सेवा दिन तुलनात्मक रुपमा सहज हुने उनको भनाइ थियो ।

निःशुल्क खाना खुवाउनमा समाजप्रति उत्तरदायी व्यवसायी, सहकारी तथा मनकारी मन भएका व्यक्तिहरूले सहयोग गरेका छन् ।

खाना खुवाउने ठाउँमा सामाजिक दुरी बनाएर लाइनबाट खाना वितरण हुँदैआएको छ ।

लकडाउनमा कारणवश आआफ्नो गाउँ जान नपाएका असंगठित मजदुर, स्कूल तथा कलेज पढ्ने विद्यार्थी तथा विपन्न वर्गहरु खाना खानको लागि आउने गरेका छन् ।

भोकालाई निःशुल्क खाना खुवाउने अभियानलाई मध्यपुर थिमि नगरपालिका वडा नं.६ का वडाध्यक्ष ईन्द्रबहादुर प्रजापति, अभयन्द्र रंजित, दिनेश श्रेष्ठ, सीता विक लगायतका व्यक्तिहरूले सामुहिक संयोजन गर्दै आएका छन् ।