Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


नुवाकोट बस दुर्घटनामा एक यात्रीको मृत्यु, ५८ घाइते


0
Shares

नुवाकोट, साउन ३० । विदुर नगरपालिका–९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ ।

म्यागङ गाउँपालिका–२, बुङताङबाट काठमाडौंका लागि छुटेको बा२ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारकाक्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

हेलिकोप्टरमा काठमाडौं लगिएकी तामाङको ग्रान्डी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५८ जना घाइते भएकामा ८ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

गम्भीर अवस्थाका साल्मेका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ र ४० वर्षीया मंगलीमाया तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

उनीहरुको राजधानीका ग्रीनसिटी र ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मिनीट्रकलाई बाटो दिनेक्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो । रासस