
परासी, वैशाख १८ । आफूले लगाएको मकै धमाधम बिक्री हुन थालेपछि परासीका किसानहरु खुसी भएका छन् ।
‘लकडाउन’का कारण मकैबाली बिक्री नहुने चिन्ताले पिरोलिएका उनीहरु घर–घरमै मकै लिन उपभोक्ता पुगेपछि खुसी भएका हुन् ।
लकडाउनमा पनि स्थानीय बजारहरुबाटमात्र नभइ बुटवल, भैरहवाबाटसमेत मकै खरिद गर्न व्यापारीहरु खेतमै पुग्ने गरेका छन् ।
यहाँका सबै स्थानीयले नगदेबालीका रुपमा मकैखेती लगाउने गरेका छन् ।
पहिला भारतको ठूठीबारी, बर्गदवा, निचलौललगायतका स्थानबाट मकै खरिद गर्न आउने गरेका थिए ।
तर, लकडाउनका कारण भारततर्फ नगएपनि स्थानीय बजार र छिमेकी जिल्लाबाट आउनेले नै सबै मकै लिएर जाने गरेको स्थानीय किसान कृष्णप्रसाद आचार्यले बताए ।
परासीका जहदागाउँ मकैखेतीका लागि पकेट क्षेत्र मानिन्छ । यहाँका अधिकांश किसानहरु व्यावसायिक मकैखेतीमा लागेका छन् ।
करिब २० हेक्टरमा सामूहिक र व्यक्तिगतरुपमा व्यावसायिक मकैखेती गरिएको छ ।
एक कठ्ठामा सात हजारदेखि आठ हजार रुपैयाँसम्म आम्दानी हुने भएकाले स्थानीयहरु मकैखेतीमा आकर्षित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्