काठमाडौं । प्रदेश नं २ मा २ हजार १ सय २१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ ।
अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा स्वाब सङ्कलन तीव्र बनाइएको छ ।
प्रदेशमा स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतको जनशक्ति परिचालित छ ।
हालसम्म संकलित स्वाबमध्ये ९७६ को परीक्षण नतिजा आएको छ, जसमा नौ जनामा सङ्क्रमण पुष्टि भएको र ९६७ को नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।
हिजो मात्र रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय र देवाहीगोनाही नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ती दुवै नगर क्षेत्रको बाह्य सम्पर्क पूर्णरूपमा रोकिएको प्रदेश नं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । जसमा पर्साका पाँच, रौतहटका तीन र सर्लाहीका एक जना रहेका छन् ।
प्रदेशमा सङ्क्रमितमध्ये पर्सामा भेटिएका तीन भारतीय र रौतहटका एक उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
पर्साका दुई, रौतहटका दुई र सर्लाहीका एक उपचाररत छन् ।










प्रतिक्रिया दिनुहोस्