Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सुदूरपश्चिममा कोरोना परीक्षण घट्यो, लकडाउनमा थप कडाइ


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा पीसीआर विधिबाट गरिने कोरोना परीक्षणसँगै र्‍यापिड टेस्ट पनि न्यून गर्न थालिएको छ ।

धनगढीमै प्रयोगशाला भएपनि पीसीआरबाट कोरोना परीक्षण निकै कम संख्यामा भइरहेकोमा केही दिनयता र्‍यापिड टेस्ट पनि घट्दै गएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हिजो १२ जनाको पीसीआर विधिबाट र ३ सय २२ जनाको र्‍यापिड टेस्टबाट कोरोना परीक्षण गरिएको छ ।

दुवै विधिबाट ३ सय ३४ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

केहीदिन अगाडीसम्म सुदूरपश्चिम प्रदेशमा दैनिक हजार बढीको र्‍यापिड टेस्ट हुँदै आएको थियो ।

निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म २ हजार ७ सय ६१ जनाको पीसीआरबाट र १२ हजार दुई सय ८३ जनाको र्‍यापिड टेस्टबाट गरी १५ हजार ४४ जनाको परीक्षण गरिएको छ ।

नमूना संकलन गरिएकामध्ये २ जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशभरी ६ हजार ५ सय ४६ र्‍यापिड टेस्ट किट मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अहिले सुदूरपश्चिममा एक जना संक्रमितको मात्रै उपचार भइरहेको छ । यसैगरि गृह मन्त्रालयको निर्देशनपछि कैलालीमा लकडाउनमा कडाई गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पछिल्लो समय स्थानीय तह र सासंदहरुको समन्वयमा विना पासका गाडी सञ्चालन भएपछि लकडाउनको उल्लंघन बढेको बताउँदै आज बिहानदेखि लकडाउनमा कडाई गरिएको बताए ।