Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


बजेटमा कृषक लक्षित कार्यक्रम ल्याउन झापाका कृषकको माग

कृषक लक्षित बजेट नआए स्वीकार्न नसकिने चेतावनी

52
Shares

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाले बजेट ल्याउने तयारी गरिरहेका बेला गाउँपालिकावासीले भने कृषक लक्षित कार्यक्रम ल्याउन माग गरेका छन्।

जनप्रतिनिधिहरुले कृषक लक्षित बजेट नल्याए स्वीकार्न नसकिने समेत कृषकले चेतावनी दिएका छन्। साेही गाउँपालिकावासीले नागरिकको पहिलो आवश्यकता पूरा गर्दै गाउँको दिगो विकासमा लाग्न जनप्रतिनिधिलाई कृषकले सुझाव समेत दिएका छन्।

झापाको गौरीगञ्ज गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई किसान लक्षित कार्यक्रम सञ्चालन गर्न स्थानीयले माग गरेका छन्। गौरीगञ्ज गाउँपालिकाको समग्र भू-भाग कृषिका लागि उर्बर रहेको र यहाँका अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेकाले गाउँपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयको सुझाव छ।

खेती गर्ने यो समयमा अहिले किसानले रासायनिक मल नपाएको भन्दै सरकारले रासायनिक मल सहज रुपमा उपलब्ध गराउनु पर्ने गौरीगञ्ज गाउँपालिकाका-३ का गंगाप्रसाद घिमिरे बताउनुहुन्छ। उहाँले किसानको पहिलो आवश्यकता पूरा गर्दै गाउँपालिकाले सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो। कृषि क्षेत्रको विकास नभई पूर्वाधारको विकासले मात्रै गाउँपालिका समृद्ध नबन्ने स्थानीय बाबुजान अन्सारी बताउँछन्।

समग्र गाउँपालिकाको विकासको पर्खाइमा रहेका गौरीगञ्जवासीले लामो समयदेखि स्वास्थ्य ,शिक्षा, लगायतका अनेकौं समस्या झेल्दै आएको र नव निर्वाचित जनप्रतिनिधिले समग्र गाउँपालिकाको विकासका लागि योजना बनाएर काम गर्नुपर्ने स्थानीय जनार्दन दाहालको भनाइ छ। आफूहरु अहिलेसम्म जनप्रतिनिधिकै भर परेकाले किसानका आवश्यकता पूरा गर्दै अघि बढ्ने दाहालको सुझाव छ।

बजार अभावमा कृषकले उत्पादन गरेको अन्नवाली बिक्रीका लागि समेत समस्या हुने गरेको गाउँपालिका १ का कुमार प्रसाद भण्डारीले बताउनुभयो। समग्र विकास निर्माणमा पछि परेको गौरीगञ्ज गाउँपालिकामा पछिल्लो समय हुलाकी मार्ग निर्माणसँगै स्थानीयमा खुशी छाएपनि कृषकको हितका लागि गाउँपालिकाले ठोस कार्य गर्न नसकेकोमा स्थानीय निराश छन्। त्यसो त गाउँपालिकावासीले रतुवा खोलाको पुल निर्माण, भारतसँग जोडिएका नाकालाई सहज र फत्तेपुर रोड निर्माण गरिनुपर्ने बताउँदै आएका छन्।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि असार १० गते वजेट ल्याउने तयारी गरिरहेका बेला दिएका हुन्।