
एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले नेसनल एसेम्ब्लीमा बहुमत गुमाएपछि मंगलबार विपक्षी दलका नेताहरूसँग भेटघाट गर्दै हुनुहुन्छ ।
म्याक्रोलाई आफ्नो सरकारले सुरु गरेको सुधारवादी मुद्दालाई पूरा गर्न विपक्षीको समर्थन पाउनुपर्ने दबाव छ । तर, दक्षिणपन्थी र लेफ्ट–ग्रीन गठबन्धन दुवै उहाँसँग काम गर्न इच्छुक देखिएका छैनन् ।
म्याक्रोँको पार्टी र अन्य गठबन्धन सहयोगीलाई अझै पनि बहुमतका लागि ४४ सिट पुगेको छैन । उहाँलाई साधारण बहुमत पुर्याउन दक्षिणपन्थी र वामपन्थी राजनीतिक धारका सांसदहरूको समर्थन जरुरत पर्दछ ।
मंगलबार र बुधबार सबै पार्टीका प्रतिनिधि उच्चस्तरीय वार्ताका लागि राष्ट्रपति भवन पुग्ने फ्रान्स२४ समाचार संस्थाले जनाएको छ ।
वर्तमान सरकारले संसदमा बहुमत गुमाएपछि राजनीतिक व्यवस्थालाई पंगु बन्नबाट रोक्न निकै कसरत गरिरहेको छ । फ्रान्सेली राजनीतिक मामिलाका जानकारहरूले अहिलेको स्थितिले फ्रान्स विना शासन व्यवस्था भएको मुलुक बन्नसक्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति म्याक्रोँले देशमा बढ्दो महंगीलाई काबुमा राख्न कयौं योजनाको प्रस्ताव गर्नुभएको छ । म्याक्रोँले अगुवाइ गर्नुभएको गठबन्धन एनसेंबलसँग अहिले पनि संसदमा सबैभन्दा धेरै सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्