
प्रदीप पौडेल (इमेज)
पोखरा, साउन २९ । गुरुङहरुको विशेष पर्व ‘ट्होटें’ पोखराका गुरुङ समुदायले मंगलबार विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
हरेक वर्षको साउन र चैत महिनाको अन्तिम मंगलबार गुरुङ र तामाङहरुले यो पर्व मनाउने गर्छन् ।
यो पर्व मनाउनाले रोग–ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने र सुख–शान्ति प्राप्त हुने विश्वास गरिन्छ ।
यस्तै, ट्होटें मनाइएमा राक्षस, भूतप्रेत भाग्ने तथा कु–संस्कृति हट्छ भन्ने पुरानो मान्यता पनि छ ।
पोखराका गुरुङहरुले यो पर्वलाई विशेष पर्वकारुपमा मनाउँदै आएका छन् ।
देशमा देखिएका विकृति र विसंगतिविरुद्ध यो पर्व मनाउँदा राम्रो हुने उनीहरुको भनाइ छ ।
गुरुङ जातिको बाहुल्य रहेको पोखरामा मंगलबार उनीहरुले बाजागाजा र झाँकीसहितको र्याली निकाले ।
पोखराको टुँडिखेलबाट सुरु भएको र्याली पोखराबजार परिक्रमा गरी तमु धिं नेपालको कार्यालय नयाँबजारमा पुगेर सकिएको थियो ।
र्यालीमा उनीहरु आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएका थिए ।
प्रतिक्रिया दिनुहोस्