Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


मनसुन चाँडै सुरु भएकाले भक्तपुरमा धमाधम धान रोपाइँ सुरु


429
Shares

भक्तपुर । मनसुन चाँडै सुरु भएकाले भक्तपुरमा धमाधम धान रोपाइँ सुरु हुन थालेकाे छ।

यस पटक असार नलाग्दै मनसुन सुरु भएका कारण भक्तपुरमा पनि चाँडै धान रोपाइँ सुरु भएको हो। तर किसानहरू यसरी धान रोपाइँमा लागि रहँदा उनीहरुका मुख्य समस्या भने सम्बन्धित निकायबाट सम्बोधन हुन भने सकेका छैनन्।

भक्तपुरमा यस पटक चाँडै धान रोपाइँ सुरू भएको छ। मुख्यतया धान रोप्ने सिजन सुरु नहुँदै असारे पानी पर्न थालेपछि खेतमा गएर रोपाइँ गर्न किसानहरू व्यस्त हुन थालेका छन्। अहिले भक्तपुरको गुण्डुमा यसरी धमाधम धान रोपाइँ हुन थालेको छ। पेशागत रुपमा भक्तपुरमा खेती किसानी गर्नेको संख्या अझै पनि उल्लेख्य छ।

यहि कारणले पनि धान रोप्ने मौसम नहुँदै किसानहरू आफ्ना खेतीबारीमा धान रोप्न व्यस्त हुन थालेका हुन्। ५० वर्षदेखि खेती किसानी गर्दै आएकी यी महिलालाई अहिले पनि आफ्नो कृषि पेशाप्रति उत्तिकै सम्मान छ। जीवन धान्न अन्न चाहिने भएकाले परिश्रम गर्नुपर्ने उनको भनाइ छ।

यस्तै भक्तपुरका अहिलेका नयाँ पुस्तालाई पनि कृषि पेशाप्रति सम्मान नै छ। स्थानीय सुमिना केसी पनि नयाँ पुस्ताले पनि खेतबारीमा काम गरी कृषि पेशालाई प्रश्रय दिनुपर्ने बताउनुहुन्छ। धान रोप्दाको रमाइलो बेग्लै भएपनि अहिले भने चाइनिज धानको बिउ उपलब्ध नहुँदा आफूहरूलाई मर्का परेको स्थानीय किसानहरूको गुनासो छ।

धान रोपाइँ धमाधम भएपनि यस वर्ष युरिया मल पनि उपलब्ध हुन नसकेका कारण यहाँका किसानहरू चिन्तित छन्। मनसुनलाई पछ्याउँदै प्रत्येक वर्ष धानको बिउ राख्नेदेखि लिएर आली लाएर धान रोप्ने नियमित कर्मलाई यहाँका किसानले छाड्न सकेका छैनन्।

यद्यपि किसानहरू यसरी धान रोपाइँमा लागि रहँदा किसानका मुख्य समस्या भने सम्बन्धित निकायबाट सम्बोधन हुन जरुरी देखिन्छ।