परासी, वैशाख १२ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका देवगाउँमा राहत वितरणको विषयमा विवाद हुँदा एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् ।
आक्रमणबाट गोबरैया प्रहरीचौकीमा कार्यरत् प्रहरी सहायक निरीक्षक चामबहादुर ओलीको टाउको फुटेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) लालमणि आचार्यले जानकारी दिए ।
अवस्था गम्भीर नभएपनि टाउकोमा गहिरो चोट लागेको उनले जानकारी दिए ।
प्रहरीमाथि आक्रमण गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नगरपालिकाले गएको बुधबारदेखि वडा कार्यालयमार्फत् विपन्नहरुलाई राहत वितरण गर्दै आएको छ ।
देवगाउँमा सबैलाई राहत नदिएको भन्दै स्थानीयको एक समूहले वडा कार्यालयमा तालाबन्दी गरेपछि विवाद भएको थियो ।
शुक्रबार तालाबन्दी खोल्न पुगेका प्रहरीमाथि स्थानीय एक समूहले आक्रमण गरेको वडाध्यक्ष जीतबहादुर गोसाईले बताए ।








प्रतिक्रिया दिनुहोस्