Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बुधबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित


65
Shares

काठमाडौं । एमालेको अवरोध पछि प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

विनियोजन विधेयकमाथिको छलफल प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको थियो । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेको छ ।

समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिनुभएको थियो । त्यसपछि उहाँले शर्माको भूमिकाको आलोचना गर्दै राजीनामा माग सहित छानबिन समिति बनाउन माग गर्नुभएको थियो ।

भट्टराईले संसद्मा १४ गते रातिको सीसीटीभी फुटेज झिकाउन सभामुखलाई आग्रह गर्नुभयो । यसअघि, अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेको आरोप प्रतिनिधिसभामा रोष्टमबाट पुनः खण्डन गर्नुभएको थियो । बजेट तयारीको सन्दर्भमा मध्यरात गैर–व्यक्ति बोलाएर बजेट तलमाथि गरिएको भन्ने आरोप निराधार र कपोलकल्पित बाहेक केही नभएको उहाँले बताउनुभयो ।

बजेट तयारीको नियम तथा परम्परा अनुसार नै अर्थ मन्त्रालयले सचिव र तोकिएको व्यक्तिहरूबाटै तयार भएको तर कोही पनि गैर–व्यक्तिबाट तयार नगरिएको उहाँले जिकिर गर्नुभयो ।