Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नेपाल कुनै सैन्य गठबन्धनमा नजाने परराष्ट्र मन्त्री खड्काको प्रष्टीकरण


624
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकाले प्रस्ताव गरिरहेको इन्डोप्यासिफिक स्टार्टेजीलाई सैन्य गठबन्धन नभएर मानवीय सहयोगका लागि बनेको एउटा कार्यक्रम भएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खड्काले इन्डोप्यासिफिक कुनै औपचारिक एलायन्स नभएको बताउनुभयो । उहाँले दुईवटा महासागर इन्डियन ओसियन र पश्चिम प्रशान्त महासागरमा पर्ने भू–भागलाई जोड्ने कन्सेप्ट नै इन्डोप्यासिफिक भएको बताउनुभयो ।

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकाको संघीय सरकारसँग भएका प्रोग्रामलाई पास गरेर मानवीय सहयोगमा प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने, सांस्कृतिक क्षमताहरू आदानप्रदान गर्ने, अभिवृद्धि गर्ने कुराहरूका लागि आएको मन्त्री खड्काले बताउनुभयो । उहाँले विभिन्न देशका सैन्य संरचनासँग सहकार्य गरेर प्राकृतिक प्रकोप तथा मानवीय प्रकोपविरुद्ध लड्ने यसको लक्ष्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको समेत बताउनुभयो । कालापानी क्षेत्रमा रहेको भारतीय क्याम्प हट्नुपर्ने, नेपालको दार्चुला हुँदै मानसरोवर जाने गरी भारतले बनाएको बाटोको विषयलाई लिएर नेपालमा प्रश्न उठिरहेको छ । त्यसलाई रोक्न नेपाल सरकारले कुटनीतिक पहल गर्न नसकेको भनी आलोचना भैरहेका बेला परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको मन्त्री खड्काले बताउनुभयो ।

महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी राखेको उहाँले बताउनुभयो । वर्तमान सरकार बनेपछि अन्तराष्ट्रिय सम्बन्धमा थप विस्तार भएको दाबी गर्दै उहाँले अन्तराष्ट्रिय सम्बन्धलाई थप विस्तार र सुदृढ गर्ने कार्य गरिएको दाबी गर्नुभयो ।