काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको अर्थमन्त्री जनार्दन शर्माले दिएको स्पष्टीकरण चित्तबुझदो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेको छ ।
अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नसक्ने अडान राख्नुभयो । विगतमा अर्थमन्त्रीले गल्ती गर्दा राजीनामा दिएको नजिर रहेको भन्दै यस्तो गम्भीर विषयमा छानविन समिति गठन गर्नुपर्ने उहाँको माग थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले भने प्रमुख प्रतिपक्षले उठाएका विषयअनुसार नै आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएपछि संसद् चल्न दिनुपर्ने बताउनुभयो ।
स्पष्टीकरण दिन पाउने मन्त्रीको अधिकार भएको भन्दै उहाँले एमाले सांसदहरूलाई बस्न आग्रह गर्नुभएको थियो । यसअघि एमाले सांसदहरुले उठाएको विषयमा प्रष्टीकरण दिँदै अर्थमन्त्री जनार्दन शर्माले राजश्वको दर परिवर्तन गर्न चलखेल भएको भन्ने आरोप निराधार रहेको जिकिर गर्नुभयो । राजश्व र अर्थ सचिवसहितको कमिटीले सबै काम आधिकारिक ढंगले गरेको भन्दै उहाँले कपोलकल्पित कुरालाई आफूले खण्डन गर्न चाहेको बताउनुभयो ।
अर्थमन्त्रीले जवाफ दिएपछि पनि एमाले सांसदहरुले अवरोध जारी राखेपछि सभामुख सापकोटाले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्