३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै


221
Shares

पाल्पा । रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अस्पताल विकास समितिले छानबिन समिति गठन गरी प्रक्रिया थालनी गरेको छ ।

छानबिनका लागि अस्पताल प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरेलले छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने बताउनुभयो ।

छानबिन समितिले बिरामी नै बोकेको हो भन्ने गल्ती प्रमाण पाएमा चालकलाई कारबाही गर्ने अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिनुभएको छ । सात दिनभित्र प्रतिवेदन बुझाउन छानबिन समितिलाई उहाँले निर्देशन दिनुभएको छ ।

अस्पतालको बा २ झ १७४३ नम्बरको एम्बुलेन्स पाल्पा तानसेनको प्रभासबाट चार यात्रु रामपुर लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्दा केही दिनअघि ट्राफिक प्रहरीको कारबाहीमा परेको थियो । भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा कारबाहीमा परेको हो ।

पहिलो पटक रहेकाले रु एक हजार जरिवाना गरी एम्बुलेन्सलाई छोडिएको थियो । प्रभासबाट रामपुरसम्मको एक यात्रुको रु ६२५ का दरले रु दुई हजार ५०० भाडा असुलेको बुझिएको छ । प्रचलित भाडादर भन्दा सो भाडादर बढी हो ।