
-दुर्गा उपाध्याय/ईमेज:
कञ्चनपुर । सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर शहीद भएका कञ्चनपुर, पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको परिवार राज्यबाट उपेक्षित भएको छ ।
गौतमको निधन भएको १७ महिना बितिसक्दा पनि सरकारले उनलाई शहीद घोषणा गर्ने र पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने औपचारिकता बाहेक अन्य प्रतिबद्धता पूरा गरेको छैन ।
सीमा अतिक्रमणको विषयमा २०७३ फागुन २६ गते भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको निधन भएको थियो ।
जनदबाबका बीच सरकारले मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैंया प्रदान गरे पनि श्रीमतीलाई जागिर, छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने लगायतका आश्वासन अहिलेसम्म पूरा गरेको छैन ।
घटनाका विषयमा भारतीय पक्षसँग छलफल गरी दोषिलाई कारवाही र विवादीत सीमा क्षेत्रको नक्सांकन गर्ने विषयमा सरकारले प्रतिबद्धता जनाएको थियो ।
दोषी भारतीय सुरक्षाकर्मीलाई कारबाही त परै जावस्, आजसम्म गौतमका परिवारको बारेमा सरकारले गरेका प्रतिबद्धता पनि पुरा नभएको पीडित परिवारको गुनासो छ ।
तीन छोरी, श्रीमती र आमाबुवाको पालन पोषणको जिम्मेवारी निभाउँदै आएका गोविन्दको निधनपछि परिवारलाई दुई छाक टार्न पनि सकस भएको छ ।
पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले शहीद पत्नीलाई जागिर दिने भनिए पनि योग्यता नभएकाले काममा राख्न असहज भएको बताए ।
गौतमलाई राज्य र आम नागरिकले समेत सम्मान नगरेको गुनासो स्थानीयको छ । चुनावको बेला सबै राजनीतिक दलले गौतमको घटनालाई चुनावी एजेण्डा नै बनाए ।
सस्तो लोकप्रियताका लागि गौतमको शालिकको शिलन्यास पनि गरियो । तर, चुनाव सकिएसँगै शालिक निर्माणको काम अलपत्र परेको छ ।
प्रतिक्रिया दिनुहोस्