Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


काठमाडौंको फोहार व्यवस्थापनको जिम्मेवारी सत्ता गठबन्धनको हो : सांसद राई


0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य कृष्णबहादुर राईले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको भएको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य राईले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्रीको मात्रै नभई सत्तारुढ गठबन्धन पनि भएको बताउनुभएको हो ।

राईले फोहोरमैला व्यवस्थापनको काममा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न गठबन्धनका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभयो । उहाँले फोहोरको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखलाई उपप्रमुखको साथ हुने उल्लेख गर्दै महानगर प्रमुखलाई संयमताका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

यस्तै, प्रतिनिधिसभा सदस्य हृदयश त्रिपाठीले सरकारले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिए पनि मलको हाहाकार भएको बताउनुभयो । उहाँले छिमेकी देश भारतबाट किसानहरूले मल ल्याए पनि नेपाल प्रहरीले प्रताडना दिने गरेको उल्लेख गर्दै यसो गरेमा धानको उत्पादन घट्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलामा एक एकल महिलाको हत्या भएको जानकारी दिँदै अपराधीहरू पहिचान भइसक्दा पनि पक्राउ नपरेको बताउनुभयो । उहाँले अपराधीहरूलाई तुरुन्तै पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले पोखरादेखि जोमसोमको हवाइ उडानको बीचमा पाँच/सात मिनेट टावरसँग सम्पर्क नहुने भन्दै टावरसँग सम्पर्क नहुने घोडेपानी रेञ्जमा टावर स्थापना गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले पोखरा–जोमसोम हवाइ उडानका लागि ‘इनरुट’ पनि मौसम सफा हुनुपर्ने व्यवस्था गरिएपछि सो क्षेत्रमा उडान नै हुन नसकेको बताउनुभयो ।