
बिराज रोस्यारा
कैलाली, साउन २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव कैलालीमा देखिएको छ ।
बन्दका बाबजुद छोटा दुरीका सवारीका साधन सामान्य रुपमा सञ्चालन भएका छन् । लामो दुरीका सवारी साधन भने पूर्ण रुपमा बन्द छन् । सवारीका साधन बन्द हुँदा कैलालीका विभिन्न स्थानमा यात्रुहरु अलपत्र परेका छन् भने बजार पनि बन्द छ ।
कैलालीमा स्कुल, कलेज लगायतका शैक्षिक संस्थाहरु बन्दका कारण खुल्न सकेका छैनन् । अटो रिक्सा, मोटरसाईकल र निजी तथा साना जिपहरु भने निर्वाध रुपमा सञ्चालन भईरहेका छन् ।
बन्दका क्रममा सम्भावित दुर्घटनालाई लिएर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बजार क्षेत्रमा नेपाली सेनाले समेत निगरानी बढाएको छ ।
धनगढी बजार क्षेत्रमा नेपाली सेनाले पैदल गस्ती गरेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी चोक चोकमा तैनाथ गरिएका छन् ।
अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र घट्न नदिन सुरक्षा निकायका सबै तहलाई जिम्मेवार रहन निर्देशन दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्