Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


लकडाउनको मारमा परेका नेपालीलाई धमाधम सहयोग जुटाउँदै जिपी फाउन्डेसन


0
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले जारी राखेको लकडाउनका अवधीमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन(जिपी फाउन्डेसन)ले सक्रियता बढाएको छ ।

फाउन्डेनका विभिन्न जिल्लामा रहेका शाखाहरुले समस्या परेका मजदुर तथा विपन्न बर्गलाई राहत वितरण तथा मानवीय सेवालाई निरन्तरता दिएका छन् ।

फाउन्डेसनकी केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले देश तथा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न र राहत जुटाउन निर्देशन दिएलगत्तै फाउन्डेसनले सक्रियता बढाएको हो ।

फाउन्डेसन जिल्ला शाखा झापाले हालैमात्र कमल गाउँपालिकामा राहत सामाग्री हस्तान्तरण गरेको छ ।

राहत सामाग्री अन्तरगत १२ क्विन्टल चामल, ७५ केजी दाल र ७५ केजी  नुन वडा न १ लाई पहिलो र दोस्रो चरण गरी हस्तान्तरण गरेको जनाएको छ।

फाउण्डेशन पर्साले आफनो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै पहिलो चरणको सेनेटाईजेशन कार्यक्रम सफलताका साथ सकाएको छ ।

फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किएको छ ।

पहिलो चरणमा फाउण्डेशन पर्साले वीरगंजका वडा १,२,३,४,५,६,७ र ८ नम्वरमा वडाहरुलाई विसंक्रमित गरिसकेको छ ।

त्यस्तै फाउन्डेसनले वीरगंज महानगरपालिका वडा नं १ र ३ का ६०० विपन्न परिवारलाई खाद्यन्न समाग्री उपलब्ध गराएको छ ।

यता फाउन्डेसनले पुर्व बिशिस्ट तथा राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री लगायतको पारिश्रमिक ४० प्रतिशत कटौती गर्न माग गरेको छ ।

बाग्मती प्रदेश संयोजक श्रीता खनालको अध्यक्षतामा जिपी फाउण्डेशन बाग्मती प्रदेशले भिडियो कन्फ्रेन्स मार्फत १३ जिल्लाका संयोजकसंग प्रविधि मिटिङ्ग गरी यस्तो निर्णय गरेको हो ।

कन्फ्रेन्स मार्फत गरेको बैठकले कोरोनाको उपचारमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलबभत्ता शतप्रतिशत वृद्धि गर्न सरकारसँग माग पनि गरेको छ । 

फाउन्डेसनकी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला आफैं विराटनगरस्थित मिल्स एरियामा पुगेर राहत वितरण गरेकी छन् ।

कांग्रेसका युवा नेता सलिम अन्सारीको सहयोगमा संयुक्त रुपमा अन्सारी र कोइरालाले विराटनगर–१७ मिल्स एरियाका अति विपन्न नागरिकताबिहीन ५० परिवारलाई राहत वितरण गरिएको हो ।

गिरिजाप्रसाद कोइरालाको सम्झनामा उनीसँगै मजदुर आन्दोलनमा मिल्स एरियाले विशेष भूमिका खेलेको भन्दै राहत वितरण गरिएको अन्सरीले बताए । 

राहत सामग्रीमा २५० किलो चामल, ५० प्याकेट डिटर्जेंट पाउडर, ५० वटा हात धुने साबुन, ५० वटा मास्क रहेको ह्यूमानिटी फाउन्डेसनका संस्थापक सदस्य कुत्बुद्दीन खानले जानकारी दिए ।

फाउन्डेसनका विदेश शाखाहरुले पनि सक्रियता बढाएका छन् । अमेरिका, अष्ट्रेलियामा फाउन्डेसनले त्यहाँ रहेका नेपालीहरुलाई आवश्यक सहयो गरिरहेको छ । 

फाउन्डेसन साइप्रस संयोजक रीता दुलालले त्यहाँका नेपाली विद्यार्थीहरुलाई आवश्यक सहयोग उपलब्ध गराएको जानकारी गराइन । उनले प्रभावित विद्यार्थीहरुलाई निवासमै बोलाएर ४० हजार रुपैंयाँ बराबरको खाद्यन्न सहयोग जुटाएको जानकारी दिइन ।