Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


सरकार ! पैदल यात्रुको आँसुले पोलेन ?


0
Shares

-रोमन आचार्य 

रातको १० बज्न लागेको छ । एउटा समूहसँग मित्रपार्क चोकमा प्रहरी भलाकुसारी गर्दैछ । सिमसिम पानी परिरहेको छ । कोही ओत लागेका छैनन् । हामीले पनि गाडी छेउमा लग्यौं । पैदल यात्राबाट रुकुम हिडेको समूह भन्ने अस्पष्ट जानकारी आयो । कार्यालय(इमेज च्यानल टेलिभिजन) बाट फर्कदै गर्दाको दृश्य हो । सहकर्मी मित्र सन्तजी लाई गाडी रोक्न भने । सँगै नवराज जी थिए । प्रहरीलाई सोधे, यहाँ के भएको ?एक जना प्रहरी साथी हाम्रो नजिक आएर भने–‘सर उहाँहरु जन्मथलो रुकुम जानु भएको रे ! अनी हामीले सोधपुछ गरेका हौं।’

समूहमा हामीले हेर्‍यौं । पुग नपुग ३० जना थिए होला । त्यसमध्ये अधिकांस महिला देखे । केही पाका पुरुष र केही युवक पनि । सन्त जी भन्दै थिए बच्चाहरु पनि रहेछन् । मेरो नजर उनीहरुले बोकेको भारीमा पर्‍यो । केही व्याग, प्लास्टिकका झोला र बोरामा सायद लुगा कपडा थिए होलान् । बाटामा हिड्दा आराम गर्नका लागि हुन सक्छ म्याट पनि बोकेको देखिन्थ्यो । त्यी प्रहरी साथीले भने–‘बाटोमा कतै सुत्न र आराम गर्नका लागि म्याट बोकेका रहेछन् सर ।’

‘उहाँहरु इटाभट्टामा काम गर्नुहुँदो रहेछ, बन्दाबन्दी(लकडाउन) भएपछि साहुँले पैसा दिएन रे, अनि खाने कुरा पनि सकिएछ, ज्यान बचाउन पैदल यात्रा गरेर जिल्ला फर्कनुको विकल्प कहाँ रह्यो र सर’–त्यी प्रहरी साथीले भने । मेरो आँखा सडक पेटीमा बसेका मानिसहरु तर्फ गयो । थाकेको शरिर, कापेका हात खुट्टा सायद भोको पेट, अनिदो आँखा र उर्जा अभावमा तड्पिएको मन ! कसैको खुट्टामा फित्तावाला चप्पल अनि कसैको खुट्टामा म्याजिक चप्पल , एकाध व्यक्तिको खुट्टामा जुत्ता ! उनीहरुलाई मैले सोधे कहाँ हिड्नुभएको ? जवाफ आएन प्रति प्रश्न–‘आयो यो बाटो कलंकी पुगिन्छ ?’

गाडीबाट ओर्लेर मैंले थप प्रश्न गर्ने हिम्मत जुटाउन सकिन । उनीहरुको वाध्यताले हामीलाई भावुक बनायो । कसैको सम्पर्क नम्बर माग्ने र कसैको नाम सोध्ने हिम्मत समेत आएन । मोवाइल झिकेर फोटो खोँच्ने वा भिडियो बनाएर टेलिभिजनमा देखाउने आँट समेत मलाई आएन । किनभने यो सबै हेर्न सरकारको कहाँ फुर्सद छ र ? हामीलाई उनीहरुको दुःख सार्वजनिक गर्नुपर्छ भन्ने सोँच नै आएन ।

संयोग नै परेछ क्यारे ! दिनभरी संकट समाधानमा स्थानीय सरकारको भुमिकामा विषयमा कार्यक्रम उत्पादन गरेको आएको । यहाँ त संकट व्यवस्थापन हैन संकट झन् झन् बढ्न थाल्यो । कार्यक्रम उत्पादनको दौरान गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङसँग, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार व्याञ्जु श्रेष्ठसँग कुराकानी गर्दा स्थानीय सरकारले प्रदेश र केन्द्रसँग समन्वय गरेर काम गरिरहेको बताएका थिए । अझ अध्यक्ष श्रेष्ठले राजमार्गमा पर्ने नगरपालिकाहरु र त्यस अन्तर्गत रहेका वडा कार्यालयहरुले हिडेर घर गएका मानिसहरुलाई खाने बस्ने व्यवस्था गरेको दावी गरेका थिए । खै, संघ अन्र्गत रहेको राजधानी काठमाडौंमै रिक्सा वाला, भरिया, गरिव, मजदुर वर्ग भोकभोकै हुँदा, रातारात मान्छे यात्रा गर्दा के गरिरहेको छ स्थानीय, प्रदेश र केन्द्र सरकार ?

डेरामा फर्किएपछि निराश हुँदै सोँचमग्न भए । कोरोना परिक्षण गर्दा खरिद गरेको किटमा भएको भ्रष्टचार याद आयो । जी टु जी माध्यामबाट परिक्षण खरिद गर्न सेनालाई जिम्मेवारी दिने सरकारको निर्णय याद आयो । अनि लकडाउका बिच दुई दिन काठमाडौं छोड्न चाहनेलाई घर पुर्‍याउन सवारी चलाउने निर्णय र फेरी होइन निर्णय गरेको छैन भन्दै मिडियलाई दोष दिएर जिम्वेवार मानिसहरु कुर्लेको याद आयो । पुँजीवादी र वुर्जुवा व्यवस्था विरुद्ध संघर्ष गरेर नेतृत्वमा पुगेका सर्वहारा वर्गको सरकारले मजदुर वर्ग र गरिव जनताप्रति हराएको मानवता गुमाएको देख्दा निराश हुन बाहेक अन्य विकल्प नै निश्केन ।

अधिकार सम्पन्न ७ सय ६१ स्थानीय तह र त्यसको नेतृत्वदायी भुमिकामा बसेका नेताहरु गुपचुप बसेको देख्दा अचम्म लाग्छ । शिशु संघीयतालाई वयस्क बनाउन र तहगत सरकारको महत्व बुझाउने अवसर आएको बेला प्रश्न र चुनौतीहरुबाट सरकार भागेको देख्दा अचम्म लाग्छ ।यो वेला संघीयतमा प्रश्न उठाउनेहरुलाई कामद्वारा जवाफ दिने अवसर आएको थियो ।संघीय लोकतान्त्रीक गणतन्त्रको परिक्षा भइरहेको बेला जनताले पाएको दुःख देखे नदेखेको गर्ने तीनै तहका स्थानीय तहका सरकारहरुको रवैया देख्दा क्रान्ति र परिवर्तनको विषयमा वारम्वार प्रश्न सोध्न मन लाग्छ । हिजो पनि हालत उस्तै आज पनि उस्तै, साँच्चै हजारौंको वलिदानमा आएको व्यवस्थाले गरिव निमुखा र मजदुर वर्गलाई न्याय गर्न सक्दैन भने हामीले संस्थागत गरेको व्यवस्था कस्को लागी ? बारम्बार प्रश्न गर्न मन लाग्छ। तर, दुर्भाग्य सुन्न र जवाफ दिन सरकारको दायित्व हो भनेर बुझाउने संयन्त्र नै छैन । त्यसैले त्यी प्रहरी साथीले भन्दै थिए–‘सर रोकेर पनि के गर्नु, खाने बस्नेको व्यवस्था कस्ले गर्छ ? विस्तारै जानुहोस् भन्छौं हामी ।

वैशाख १ गतेका दिन नयाँ पत्रिकामा कार्यरत सञ्चारकर्मी साथीहरु प्रकाश जी, विजय जी र म कान्तिपथ हुँदै ललितपुर जिल्लाको यात्रा गरेका थियौं । एउटा प्रहरी विटका साथीले रातारात मान्छे हिडेर हेटौडा हुँदै आ–आफ्नो जिल्ला फर्किरहेको बताए । हामीले सोध्यौं तपाईंहरु उनीहरुलाई रोक्नु हुन्न भनेर। जवाफमा उनले भने–‘दुई छाक खाना दिनुहुन्छ भने हामी जहाँ गएर पनि बस्न तयार छौं भन्छन् । हामीले उनीहरुलाई कसरी खाने कुरा दिन सक्छौं र ? जानुहोस् भन्न बाहेक अरु विकल्प छैन ।’

संकटको बेला जनताको समस्या समाधान गर्न सक्दैन भने सरकार असफल बन्दैछ भन्ने बुझ्न समस्या छैन।जनमत पाएको केन्द्र देखि स्थानीय तहसम्मको सरकारले जनतालाई खुसी बनाउन सक्दैन भने त्यो सरासर जनमतको अवमूल्य हो । संकटको बेला जनताको सारथी बन्न सक्दैनौं भने तिम्रो के काम सरकार ? मानवता छ भने एक पटक सोँच तिमीलाई भोट दिएर राज गर्ने अवसर दिएको जनता आज जीवन र मृत्युसँग जुध्दै सयौं किलोमिटर पैदल यात्रा गरिरहँदा तिमीलाई उनीहरुको आँसुले पोल्ला है सरकार !