Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


पत्रकारलाई निःशुल्क ज्याकेट


0
Shares

काठमाडौं, बैशाख ४ । कोभिड–१९ को महामारी तथा जोखिमका बीच आफ्नो पेशागत धर्म निभाइरहेका सञ्चारकर्मीलाई एक अनलाइन पत्रिकाले प्रेस ज्याकेट, पञ्जा र मास्क वितरण गरेको छ ।

ललितपुरबाट सञ्चालित दैनिकी ‘न्यूज डटकम’ अनलाइनले बिहीबार ज्याकेट १०० जना पत्रकारलाई वितरण गरेको हो । ओहोरदोहोर गर्न कठिनाइ भइरहेका बेला पत्रकारको सुरक्षाका लागि ज्याकेटलगायत अन्य सामग्री वितरण गरिएको हो ।

समाचार सङ्कलनमा निस्कँदा पत्रकारलाई अन्य कुनै सुरक्षा व्यवस्था छैन । आफूसँग भएको सञ्चारकर्मीको परिचयपत्र बोकेर नियमित काममा खटिँदै आएका छन् ।

जोखिमपूर्ण अवस्थामा रिपोर्टिङ गर्न निस्कने पत्रकारको सुरक्षालाई ध्यानमा राखी सुरक्षा सामग्री वितरण गरिएको दैनिकी न्यूजका सम्पादक रामहरि कार्कीले जानकारी दिए ।

“उपत्यकाभरका पत्रकार तथा सञ्चारमाध्यमलाई १०० थान ज्याकेट आज वितरण गरिएको छ, केही सञ्चारमाध्यमलाई शुक्रबार पनि प्रेस ज्याकेट उपलब्ध गराइनेछ, नेपाल पत्रकार महासङ्घ तथा अन्य निकायले पत्रकारका लागि आवश्यकताअनुसारका सुरक्षा सामग्री उपलब्ध गराउन नसकेपछि उनीहरुको सुरक्षामा ध्यान राख्दै ज्याकेट वितरण गरिएको हो”, उनले भने ।

दैनिकी न्यूज डटकम अनलाइन चार वर्षदेखि ललितपुरबाट सूचना प्रवाहमा सक्रिय रहेको जनाइएको छ । रासस