१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘विद्रोही धरान’ मा साम्पाङको उदय


182
Shares

काठमाडौं । बिहानै उठेर घर नजिकैको ग्रीन टी पसलमा साथीभाइसँग भेट गर्ने र आफ्नो मिसनमा हिँड्ने उनको दैनिकी थियो। आफ्ना केही समर्थक र फेसबुक पेजमा फलो गरेकाबाहेकले उनलाई त्यति महत्त्व दिएका थिएनन्। कहिले उनी एक्लै हिँडेर बस्तीमा छिर्थे, कहिले आफ्नै टेम्पो चढेर घुम्थे। उनी कताकता पुग्छन् भनेर परिवारका सदस्य र साथीभाइले पनि भेउ पाउँदैनथे। गुमनामझैं रहेका यी पात्र एकसाता भयो, राष्ट्रिय चर्चाको केन्द्रमा छन्। अहिले मूलधारका सञ्चारमाध्यमका रिपोर्टर अन्तर्वार्ता लिन उनलाई खोज्दै आइपुग्छन्। उनको सर्बत्र चर्चा छ। जताततै छाएका छन् उनी।

धरानमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम नआउँदै सबैको ध्यान उनीतिर सोझियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतअन्तरले पराजित गरेपछि उनको व्यक्तित्व बढेको छ। उनको जितलाई धरानवासीको ‘मौन विद्रोह’ का रूपमा पनि हेरिएको छ। त्यसो त उनले सामाजिक अभियन्ताका रूपमा जनताका पक्षमा गरेको संघर्षको कथा पनि लामो छ।

यी पात्र हुन्, स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित ४० वर्षीय हर्कराज राई (साम्पाङ)। राजनीतिक दल र नेताले जनताको विश्वासप्रति गरेको कुठाराघातबाट निराश बनेका धरानवासीका लागि मात्र होइन, सिंगो नेपालीका लागि पनि आशाको दियो बनेका छन् उनी। कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै उनी नेपाली समाज र राजनीतिमा एक ‘आइडल पर्सन’ का रूपमा जबर्जस्त उदाएका छन्। उनको न कुनै संगठन छ न राजनीतिक दलका नेताको अघिपछि हिँड्ने जस्ता कार्यकर्ता वा समर्थक छन्। नेताले बिर्सिएका जनताका सानासाना मुद्दा बोकेर निरन्तर संघर्ष गरिरहने एक आममान्छे हर्कराज अहिले उपमहानगरपालिकाको प्रमुख पदमा पुगेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।