१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भृकुटीमण्डपमा प्लास्टिक मेला सुरु


130
Shares

काठमाडौं । प्लास्ट नेपाल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि देशकै ठूलो प्लास्टिक मेला सुरु भएको छ ।

प्लाष्टिक मेलाको उद्धाटन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले गर्ने भएको छ । उद्धाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको बताउनुभयो । उहाँले अत्यावश्यक भएता पनि प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको बताउनुभयो ।

अध्यक्ष गोल्छाले प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री भएकाले यसलाई व्यवस्थापन गर्ने भने जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउने कुरा स्वागतयोग्य भएको बताउनुभयो । उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा लाग्ने १० प्रतिशत भन्सार सरकारले घटाएर पाँच प्रतिशत कायम गर्नुमाग गर्नुभयो ।

भन्सार लाग्ने भएकाले अहिले नेपालमा प्लास्टिकका सामाग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिएर ठूलो विकृति ल्याएको बताउनुभयो । अध्यक्ष गोल्छाले सरकारले नीति तथा कार्यक्रममा दश वर्षको उत्पादन दशक घोषणा स्वागयोग्य रहेको बताउनुभयो । उहाँले नेपालमा उत्पादन बढाउनुपर्छ भन्दै महासंघले उत्पादन बढाउनको लागि भिजन पेपर तयार पारेकाले सरकारसँग उद्योग वाणिज्यसंघ सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । अध्यक्ष गोल्छाले बजारमा देखिएको तरलताको समस्याले निजि क्षेत्रमा निरासा छाएकाले यो वर्षको बजेट निजि क्षेत्रले धेरै चासोले हेरिरहेको बताउनुभयो ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रको माग अनुसार सरकारले स्वदेशी उत्पादनको दशक घोषणा गरेको बताउनुभयो । उहाँले उद्योग परिसंघले अगाडि सारेका मेक इन नेपाल मेड इन नेपाल अभियानलाई सहयोग गर्ने घोषणा गर्नु मुलुकमा औद्योगिक वातावरण राम्रो बन्न सक्ने अवस्था बनेको बताउनुभयो । अध्यक्ष अग्रवालले निजी क्षेत्रले माग गरे अनुसार घरजग्गा कारोबारलाई व्यवस्थापन गर्ने लगायतका कुरा बजेटमा समेत समेटिएर लागू हुने आशा गरिएको बताउनुभयो ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्लास्टिक दैनिक जीवनमा निकै आवश्यक भएको बताउनुभयो । उहाँले जसरी आगो विना चुलो बल्दैन त्यसरी नै अब प्लास्टिकजन्य सामग्री विना हाम्रो व्यवहार नचल्ने भएको बताउनुभयो । अध्यक्ष मल्लले प्लास्टिक प्रयोग भएर जुन किसिमको वेस्ट आउँछ, त्यसलाई पनि व्यवस्थित गर्नु पर्ने बताउनुभयो । उहाँले त्यसका लागि मुलुकभित्र नै प्लाष्टिक रिसाइकलिङ उद्योग स्थापना गरिनु पर्ने बताउनुभयो । मल्लले प्लास्टिकबाट उत्सर्जित फोहोरको वातावरणमा दीर्घकालीन असर पर्ने भएकाले रिसाइकलिङ उद्योग स्थापना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्लास्ट नेपाल फाउण्डेशनले आयोजना गरेको यो तेस्रो संस्करणको प्रदर्शनी हो । कोरोना महामारीका कारण भने केही वर्षयता प्रदर्शनी रोकिएको थियो । प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योग र भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लास्टिक उद्यमी व्यवसायी सहभागी हुने आयोजकले बताएको छ । प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, कच्चा पदार्थ र मेसिनरी उपकरणहरुको स्टल राखिएको छ ।