Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


लुकिछिपी ट्रकमा चढेर रातको समयमा नेपाल प्रवेश


0
Shares

प्रकाश मैनाली (ईमेज)

सर्लाही, चैत ३० । सरकारले केन्द्रदेखि स्थानीय तहसम्म पूर्णरुपमा लकडाउन गरेको दावी गरेपनि सर्लाहीमा भने केही दिन यता भारतमा काम गर्न गएकाहरु निर्वाध रुपमा फर्किरहेका छन् ।

सरकारी निकायको दावी र सीमामा भएका गतिविधिहरुले मेल नखाएपछि कोरोना संक्रमण तत्कालै रोकिएला भन्न सकिँदैन । स्थानीय प्रशासनले आफ्नो क्षेत्रबाट अन्यत्रको आवागमनमा रोक लगाउने निर्णय गरेपनि सीमा क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने क्रम भने रोकिएको छैन ।

भारतको उतर प्रदेशको सिसागन्जमा मजदुरी गर्दै आएका नेपालीहरुलाई भारतीय कम्पनीहरुले नेपालको सीमा नजिकै ल्याएर छोडिदिएको छ । ट्रकमा हालेर नाका नजिकै छोडेपछि उनीहरु रातको समयमा नेपाल प्रवेश गरेको खुलासा भएको छ ।

दुईवटा ट्रकमा राखेर ल्याइएका एक सय ८५ जना नेपाल प्रवेश गरेका थिए । तीमध्ये ५३ जनालाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेपनि बाँकी रहेकाहरु सम्पर्कमा छैनन् । सोही समूहमा आएर क्वारेन्टाइनमा रहेका इश्वरपुर –९ का सञ्जय मिझीले रोजगारदाताले आफूहरुलाई ट्रकमा राखेर सीमा नजिकै ल्याएर छोडेको बताएका छन् ।

स्थानीय प्रशासनले भने सीमा क्षेत्रमा आवतजावतमा कडाइ गरेको दावी गरेको छ । दुवै देशमा सुरक्षा गस्ती बढाइएकाले कोही पनि सीमाबाट हिँडडुल गर्न नपाउने दावी गरेको छ । सर्लाहीमा सुरक्षा गस्ती बढाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको टेलिफोन वार्तामा पनि दुवै देशमा रहेका नागरिकलाई सीमामा आवतजावत गर्न रोक लगाउने सहमति भएको थियो ।

तर भारतबाट रातको समयमा नेपालतर्फ प्रवेश गर्नेहरुको संख्या हरेक दिन बढ्दै जानुले दुवै देशको कुटनीति र सरकारी संयन्त्रको कार्यशैली प्रष्ट हुन्छ ।

जिल्लास्थित सरकारी अधिकारीहरुले भारतबाट नेपाल प्रवेश गर्नेहरु नरहेको दावी गरेपनि यो क्रम भने राकिएको छैन । लकडाउन जारी रहेपनि स्थानीय प्रशासनले सीमामा कडाइ नगर्ने हो भने फेरि पनि नेपाल संक्रमणको जोखिमबाट मुक्त हुन नसक्ने प्रष्ट छ ।