सिन्धुपाल्चोक । लकडाउनका बेला सबै होम क्वारेन्टाइन्मा छन् । जनप्रतिनिधहरु पनि बाँचिए गरुला जनताका सेवा भनेर होम क्वारेन्टाइनमा नै बसिरहेका छन् ।
नगई नहुने काम बाहेक उनीहरु कतै निस्किदैनन् । तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा शेर्पा लकडाउनका समयमा पनि एकदिन पनि घर बस्न पाएका छैनन् ।
जनताको स्वास्थ्यप्रति सचेत रहँदैं सुरुका दिनमा स्वास्थ्य सामग्रीको जोहो र क्वारेन्टाइन निर्माणमा लागेका उनी पछिल्लो समय जनताको स्वास्थ्य चेकजाँचका लागि गापाका जनताका घर घर पुगेका छन् ।

दुई वटा डाक्टर र गापाका स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिकरेल लिएर उनी गाउँ पसेको निकै दिन भइसक्यो ।
अब दुई वटा वडाका केही गाउँको नागरिकको स्वास्थ्य चेकअप बाँकी रहेको उनले जानकारी दिए ।
पहिला सिकिस्त बिरामी परेका ठाउँमा बोलाएर डाक्टर लिएर गएका उनी अहिले प्रत्येक नागरिकका घरमा पुग्ने गरेका छन् ।
‘कोरोनाको डरले सामान्य रुघाखोकी लागेका मात्रै होइन केही नभएका समेत चेक गर्न आउछन्,’ उनले भने, ‘त्यसपछि मैले सबै वडाका जनताका घर घर पुगेर स्वास्थ्य चेकअप गर्ने अटोठ लिए । अहिले लगभग सबै वडाको चेकअप अन्तिम चरणमा पुगेको छ ।’

केही गाउँ पुग्दा त्यहाँका नागरिक एकदम डराएको निमाले पाए । `त्यसको लागि जनचेतनाका साथै मनोबल उच्च राख्ने कामहरु गर्नुपर्ने म आफैंले देखे` उनले भने, `त्यसपछि कोरोनाको बारे विस्तृत जानकारी दिँदै हामीले सावधानी अपनाए केही नहुने बताएपछि उनीहरु उच्च मनोबल लिएर बसेका छन् ।`
निमाले भने, `जनप्रतिनिधिको खाश काम जनतालाई त्रासको वातावरणबाट सामान्य अवस्थामा ल्याउनु रहेछ म त्यसमा लागेको छु अन्य जनप्रतिनिधिज्यूहरुलाई पनि आग्रह गर्दछु ।`
त्रासका कारण दीर्घरोगी (मुटु, प्रेसर, सुगर) हरुलाई अझ बढी गार्हो भएको उनको बुझाइ छ ।
गाउँमा प्रेसरका औषधि नखाए कोरोना लाग्दैन भन्ने हल्ला बढेछ कति ठाउँमा औषधि खानै छाडेको निमाले पाए । कतिको औषधि सकिएर अझ थला परेर बसेको पाए ।

ती सबैको तथ्याकं संकलन गरेर तिनीहरुलाई औषधिको व्यवस्थापन गर्ने र भ्रम, हल्लाहरुलाई चिर्ने मौका मिल्यो उनले भने, ‘नत्र कोरोनाले भन्दा बढी मान्छे अन्य रोगका कारण मर्ने रहेछन् ।’
चेकजाँचका कारण निमोनिया जस्ता रोगीहरुपनि धेरै भेटे उनले । ती सबैलाई औषधि दिँदै अहिले सामान्य अवस्थामा छन् ।
नागरिकका मनमा लकडाउनका समयमा उपचार नपाई मरिन्छ कि भन्ने डर रहेछ निमाले भने, ‘मैले त्यो चिर्ने मौका पाए ।’
अक्सिजन दिनुपर्ने, भेन्टिलेटरमा राख्नुपर्ने, सिरियस खालका बिमारीहरुलाई काठमाडौं पठाउने बाहेक गापाले अरु सबैको उपचार यहीँ गर्ने बताएको छ । त्यसको लागि गापा तयारी अवस्थामा छ ।
कोरोनाका कारण आफ्ना नागरिकको स्वास्थ्यस्थिति बारे बुझ्न पाउँदा उनी खुशी छन् ।
‘कोरोना महामारी आइ नै हाल्यो भने थेग्न त गार्हो होला तर अहिलेको अवस्थामा गापामा कोरोना छिर्ने चान्स छैन्,’ उनले भने ।
जिल्लामा आवश्यक भेन्टिलेटर, अक्सिजन सहितको एक हजार बेडको आइसोलेसन वार्डको व्यवस्थापन गर्नुपर्ने उनको विचार छ ।
तर स्थानीय जनप्रतिनिधि र प्रशासनले आइसोलेसन वार्ड निर्माणमा वेवास्था गरेकोमा उनी दुखी छन् ।
हामीले हाम्रो जिल्लाको व्यवस्थापन यही गर्न सक्ने गरी योजना बनाउन सक्यौं र त्यसलाई कार्यान्वयन गर्न सक्यौं भने कोरोनासँग जित्न सकिने उनको तर्क छ ।

तर जिल्ला हाँक्नेहरुलाई नै क्वारेन्टाइन र आइसोलेसन बारे नै पर्याप्त जानकारी नभएको हो कि जस्तो निमालाई लाग्छ ।
जिल्लाका तीन ठाउँमा आइसोलेसन वार्ड बनाउने भनेर गरेको निर्णय पनि अहिले क्वारेन्टाइन मात्रै बनाउने हो भनिदैंछ यस्तो व्यवस्थापनले कसरी महामारी थेग्न सकिएला उनले चिन्ता पोखे ।








प्रतिक्रिया दिनुहोस्