१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा


0
Shares

बागलुङ, चैत २५ । दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । 

स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

अघिल्ला दिनका तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । आइतबार ‘लकडाउन’ अटेर गरी बजारमा हिँड्ने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोमबार बिहानै पनि ३० पक्राउ परेका थिए । नियन्त्रणमा लिइएकालाई सम्झाइबुझाइ गरेर छाडिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रहरीले अत्यावश्यक काम नपरी घर बाहिर ननिसक्न सबैमा आग्रह गरेको छ । “दैनिक उपभोग्य वस्तु पनि फोनबाट घरमै मगाउन अनुरोध गरेका छौँ”, उनले भने,“लकडाउनको पालना गराउन हाम्रोतर्फबाट सक्दो प्रयास भइरहेको छ, उल्लङ्घन भए थप कडाइ गर्र्छौं ।”

बागलुङमा कोभिड–१९ का दुई जना बिरामी फेला परेका छन् । सङ्क्रमित भेटिएसँगै थप जोखिम बढेपछि ‘लकडाउन’ कडा पारिएको हो । सङ्क्रमित दुवैको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार दुवैको अवस्था सामान्य छ । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया किशोरी र सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा सो भाइरसको सङ्क्रमण भेटिएको थियो 

दुवै जना कतार एयरको क्युआर ६५२ बाट नेपाल आएका थिए । सङ्क्रमितका परिवारका सदस्यमा भने कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन । रासस