Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


मेयरको उम्मेदवारीबाट पछि नहट्ने कांग्रेस लालबन्दीको अडान


2.2k
Shares

सर्लाही । नेपाली कांग्रेस लालबन्दीले आफ्नो पार्टीका मेयर पदको उम्मेदवारलाई कुनै पनि हालतमा पछि नहटाउने अडान लिएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट लालबन्दी नगरपालिकाको मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता गर्दै माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको पत्र सार्वजनिक भएपछि कांग्रेस लालबन्दी पछि नहट्ने अडान लिएको हो ।

नेपाली कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले आफूहरू चुनावमा होमिइसकेकाले कुनै पनि हालमा उम्मेदवारी फिर्ता नहुने र कसैलाई पनि सहयोग समेत नगर्ने बताउनुभयो ।

लालबन्दीमा कांग्रेसको अवस्था राम्रो देखेर विपक्षी दलले अनेक पत्र लेखाई अनावश्यक हल्ला पिटाएको उहाँको आरोप छ ।

केही दिनअघि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दा पनि सभापति देउवाले आफ्ना उम्मेदवार अधिकारीको उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाउनुभएको थियो ।

तर, पछि निर्वाचन अधिकृतले अन्तिम नामावली प्रकाशन भइसकेपछि पत्र आएको भन्दै अधिकारीको उम्मेदवारी कायमै रहेको पत्र निकाल्नुभएको थियो ।

त्यसपछि मेयर पदका उम्मेदवार अधिकारी मत माग्दै निरन्तर घरदैलोमा हुनुहुन्छ । लालबन्दीमा नेकपा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई ‘ब्याक’ गराउने प्रयास गरिरहेको छ ।

माओवादीले लालबन्दीको मेयरमा पार्टीभित्र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने र अध्यक्ष प्रचण्ड नजिकका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीलाई उठाएको छ ।

माओवादीले लालबन्दीको मेयर–उपमेयरमा नेकपा (एकीकृत समाजवादी) सँग चुनावी तालमेल गरेको छ । मेयरमा बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारीलाई उठाइएको छ ।