३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


सार्वजनिक स्थलबाट प्रचार सामग्री हटाउन सर्लाहीका राजनीतिक दल सहमत


1.3k
Shares

सर्लाही । जिल्लाका राजनीतिक दलहरूले पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरूमा राखिएको निर्वाचन प्रचार सामग्री हटाउन सहमत भएका छन् ।

बुधबार सदरमुकाम मलङ्गवामा बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा सहभागी जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले सार्वजनिक स्थलहरूमा राखेको पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने प्रतिवद्धता जनाएका हुन् ।

बिजुलीको पोल, विद्यालयलगायतका सार्वजनिक स्थलहरूमा निर्वाचन आचारसंहिता विपरीत राखिएको निर्वाचन सामग्रीहरू दलहरू आफैँले नहटाए सुरक्षाकर्मी लगाएर हटाउने र त्यसमा दलहरूको तर्फबाट कुनै अवरोध नगर्ने निर्णय भएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिनुभयो ।

सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बैठकले निर्वाचन आचारसंहिताले निषेध गरेका निर्वाचन प्रचारप्रसार सामग्री सार्वजनिक स्थलमा नराख्ने र राखिसकेको पनि हटाउने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले बताउनुभयो ।

बैठकमा मुख्य निर्वाचन अधिकृत पिया, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेल, २० वटै पालिकाका निर्वाचन अधिकृत, राजनीतिक दलका प्रमुखसहित पार्टी प्रतिनिधि र सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पनि राजनीतिक दलहरूले चुनावी आचारसंहिताको पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैबीच, हरिवन प्रहरीले बुधबारदेखि हरिवन बजार क्षेत्रबाट सार्वजनिक स्थलहरूमा राखिएको झण्डा, ब्यानरलगायतका निर्वाचन प्रचारप्रसार सामग्री हटाउन सुरु गरिसकेको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिनुभयो ।