Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


नियमले मिल्ने सेवासुविधा मात्र लिएकाे हुँ : सुनिता डंगोल


15.1k
Shares

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले नियमसङ्गत रूपमा महानगरकाे सेवासुविधा लिएकाे बताउनुभएको छ ।

झुटो शैक्षिक विवरण पेश गरेर काठमाडौं महानगरपालिकाको सहायक विज्ञ भएको विषयमा सार्वजनिक सञ्चारमाध्यममा समाचार आएपछि उहाँले आफूले नियमसंगत रूपमा महानगरको सेवासुिवधा लिएको बताउनुभएको हो ।

ईमेजखबरसँगको कुराकानीमा उम्मेदवार डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि आरोप लगाइएको बताउनुभयो । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा छैटौं तहको कर्मचारी भएर सेवासुविधा लिएको उहाँको भनाइ छ ।

‘राजनीतिक रूपमा अघि बढ्दा थुप्रै आक्षेपहरू लाग्छन्,’ उहाँले भन्नुभयो, ‘यो चुनावको बेला गरिने प्रोपोगाण्डा मात्र हो ।’

आफूले लगभग चार वर्ष सहायक विज्ञको रूपमा काम गर्दा मासिक तलब ८० हजार नभई लगभग ४५ हजारको हाराहारी डंगोलले बताउनुभयो ।

‘तलब मासिक ८० हजार लिएको भनिएको छ, छैटौं तहको कर्मचारीले लिने सेवासुविधा मैले लिएकी थिएँ,’ उहाँले थप्नुभयो, ‘मेरो सेवासुविधा त्यही ४० देखि ४५ हजारसम्म रूपैयाँ थियो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सुनिता डंगोलविरुद्ध उजुरी नपरेको जनाएको छ । प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार साँझ ५ बजेसम्म उहाँविरुद्ध उजुरी नपरेको बताउनुभयो ।

बुधबार दिउँसो विभिन्न सञ्चारमाध्यममा उपमेयरकी उम्मेदवार डंगोलविरुद्ध झुटा शैक्षिक विवरण पेश गरेर तलबसुविधा लिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार सार्वजनिक भएको थियो । समाचारमा दर्ता नम्बरसमेत उल्लेख गरिएको थियो ।

Skip This