पोखरा, चैत १८ । पोखरामा मंगलबार (आज)बाट कोरोनाभाइरसको परीक्षण सुरु भएको छ ।
मंगलबार काठमाडौंबाट प्राविधिकसहितको टोलीले ‘पीसीआर मेसिन’ पोखरा ल्याएर जडान गरेपछि परीक्षण सुरु भएको हो ।
पाँचओटा मेसिनमध्ये काठमाडौंमा राखिएको ‘स्टक’ मेसिन पोखरा ल्याएर काम सुरु गरिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
दुई करोड ४८ लाखको राहत कोष
‘लकडाउन’पछि अतिविपन्न वर्गलाई लक्षित गरी पोखरा महानगरपालिकाले राहत वितरणका लागि भन्दै दुई करोड ४८ लाख ५० रुपैयाँको राहत कोष स्थापना गरेको छ ।
तर, राहत लिनका लागि विपन्न वर्गका नागरिकले निकै झन्झटिलो भएको बताएका छन् ।
लकडाउनको आठौं दिन पोखरा सुनसान देखियो । अत्यावश्यक काममा बाहिर निस्कनका लागि ‘पास’ लिन जिल्ला प्रशासन कार्यालयमा जानेहरु बढेका छन् ।
सोमबारसम्म प्रशासनले पास वितरण गरेपनि ‘माथिको आदेश’ भन्दै मंगलबारबाट पास वितरण नगर्दा समस्यामा परेको सर्वसाधारणको गुनासो छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताएका छन् ।
यसअघि, प्रशासनको अनुमति लिएर जाने व्यवस्था गरिएको भएपनि मंगलबारबाट उक्त व्यवस्था बन्द गरी पास वितरणमासमेत कडाइ गरेको जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्