काठमाडौं । सरकारले शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन समक्ष प्रस्ताव पेश गरेको छ ।
नेपाल भ्रमणमा आएको संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेतृत्वको टोलीसँगको भेटमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्न प्रस्ताव गरेको हो ।
आइतबार डा. टेड्रोस नेतृत्वको टोलीको नेपाल भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले अत्यावश्यक औंषधीको उत्पादन नेपालमै गर्ने र त्यसका लागि संगठनले सहयोग गर्नुपर्ने प्रस्ताव पनि राखिएको बताउनुभयो ।
भेटका अवसरमा डा. टेड्रोसले कोभिड १९ प्रतिकार्यका लागि निःशुल्क तथा समतामूलक खोप उपलब्धता तथा निःशुल्क कोभिड १९ परीक्षण, निशुल्क उपचार तथा व्यवस्थापनका लागि गरेका प्रयासहरुको प्रशंशा गर्दै यसबाट विश्वका अन्य देशहरुले पनि सिक्नुपर्ने धारणा राख्नु भएको पनि उहाँले बताउनुभयो । स्वास्थ्यमन्त्री खतिवडाका अनुसार डा. टेड्रोसले नेपालमा हाल सफलतापूर्वक सम्पन्न भईरहेको टाईफाईड खोप अभियानको पनि प्रशंशा गर्नु भएको थियो भने नेपालमा अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा पनि व्यक्त गर्नु भएको थियो ।
भ्रमण टोलीमा रहनु भएका विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशीयाका लागि क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा छुट्टयाएको बजेट दक्षिणपूर्वी एशीयाली देशहरु मध्येमा नै धेरै भएको भन्दै खुसी व्यक्त गर्नुभएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्री खतिवडाले भेटमा डा. सिंहले स्वास्थ्य उपचार लागत कम गर्न सस्तो औषधि खरिद गर्न र उत्पादनको वातावरण बनाउनमा जोड दिन सरकारलाई आग्रह गरेको पनि जानकारी दिनुभयो । डा. टेड्रोस नेतृत्वको टोलीले यही बैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिने नेपाल भ्रमण सम्पन्न गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्