काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक आज मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
सरकारले अत्यावश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा छलफल गर्न मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ ।
यसअघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।
उक्त बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिन सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।
हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ । मन्त्रिपरिषदको आजको बैठकमा उच्चस्तरीय समन्वय समितिले गरेको हालसम्मको कामको समीक्षा हुने बताइएको छ ।
चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट, छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बस्न बसेको थिएन ।
मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ । गत चैत ७ गते प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्