सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुँदैं मास्क वितरण गरेको छ ।
बजारमा मास्कको अभाव भएपछि पालिका आफैले मास्क बनाएर वितरण गर्न थालेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
उनले भने, ‘चुनावमा टिसर्ट, क्याप त्यतिकै बाँड्छन आपत पर्दा मास्कपनि उपलब्ध गराउन नसक्ने भनेर जनताले आलोचना गर्न थालेपछि ‘होममेड मास्क’ बनाएर वितरण गरेका छौं ।’
गाउँपलिकाले आफ्नै खर्चमा दैनिक तीन सय मास्क तयार गर्ने गरेको छ । ती मास्क पालिकामा आउने सबैलाई निशुल्क वितरणको व्यवस्था गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एउटा गाउँबाट अर्को गाउँ आउँजाउँमा पनि पालिकाले कडाइ गरेको छ ।
पालिका अध्यक्ष शेर्पाले भने, ‘एकजनामा भएपछि गाउँ नै सोतर हुन्छ त्यसैले एउटा गाउँबाट अर्को गाउँ आउनजान नगर्न अनुरोध गरेका छौं ।’
तर काठमाडौंबाट गाउँ फर्कनेको चाप भने थेगिनसक्नु रहेको शेर्पाले बताए ।
काठमाडौंबाट गएका दुई जनामा १०४ डिग्री बढी ज्वरो आएको छ सिटामोल दिएका छौं, उनीहरुलाई छुट्टै स्थानमा राखेका पनि छौं आज के हुन्छ हेरेर उपचारको लागि अस्पताल पठाउने तयारी गरिने उनले बताए ।
यसअघि नै हेलम्बु गाउँपालिकाले पालिका प्रवेश गर्ने सीमामा स्वास्थ्य परीक्षण थालिसकेको छ । हेलम्बु छिर्ने जो कोहीले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने पालिकाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्