Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


एमाले भएर बस्न मन थियो तर दिइएन : मन्त्री श्रेष्ठ


4.8k
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताउनुभएको छ ।

जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको मन्त्री श्रेष्ठले बताउनुभयो । कांग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरूको बाध्यता भएको उहाँको भनाइ छ ।

‘हाम्रो रहर हैन नेपाली कांग्रेससँग मिल्नु, हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ, तर बस्न दिइएन,’ उहाँले भन्नुभयो, ‘एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नु परेको हो ।’

शनिबार भिमादमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको स्थानीय तहमा समाजवादीले आफूलाई विजयी गराएर विकास कसरी गर्ने सिकाउने दाबी गर्नुभयो ।

अबको निर्वाचनपछि सरकारमा पुगेर राजा बनेकाहरू ढल्ने निश्चित रहेको उनको जिकिर छ । पार्टी नयाँ भए पनि पुराना नेता भएका कारण नअत्तालिन कार्यकर्तालाई उहाँको अनुरोध छ ।

मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा राम्रो काम गर्ने नेतालाई मत दिन अनुरोध गर्नुभयो ।

‘जनताको पक्षमा काम गर्ने नेता छान्ने अवसर आएको छ,’ उहाँले अगाडि भन्नुभयो, ‘सत्तामा पुगेर जनताको मत दुरुपयोग गर्नेहरूलाई चिन्नुहोला ।’

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रोजगारी सिर्जना गर्नुका साथै श्रम शोषणमा परेका युवाहरूको उद्दारमा उदाहणीय काम गरेको मन्त्री श्रेष्ठको जिकिर छ । वैदेशिक रोजगारीका शिलशिलामा ठगिएकाहरूलाई न्याय दिने काम गरेको उहाँको दाबी छ ।