Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


‘सरकारको उदासिनताका कारण श्रम बजारमा द्वन्द्व सृजना हुन लाग्यो’


52
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले श्रमिकलाई रोजगार र राहत दिन गरेका सहमति कार्यान्वयन गर्न उदासिन बनेको आरोप लगाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले पत्रकार सम्मेलन गरेर सरकारको उदासिनताका कारण श्रम बजारमा द्वन्द्व सृजना हुन लागेको बताएको छ ।

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न ध्यान दिन नसक्दा श्रमिक र रोजगारदाताबीच द्वन्द्व बढाउन सहयोग गरेको बताउनुभयो । उहाँले सरकार र दलहरु श्रमजीविहरुको दैनिक जीविकाप्रति संवेदनशील नदेखिएको आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेस पनि समाजवादको बाटोमा अल्मिलिएको आरोप लगाउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसले चैत्र ७ र ८ गते काठमाडौंमा दुई दिवसीय राष्ट्रिय समितिको बैठक सम्पन्न गरेको थियो । बैठकले राष्ट्रिय सम्मेलन आगामी वर्षको जेठ २९ र ३० गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी ७५३ वटै स्थानीय तहमा आगामी असार मसान्तभित्र स्थानीय तह समिति गठन गरिसक्ने, वैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्थानीय निर्वाचनलाई लक्षित गरेर प्रमुख शहर आमसभाका कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।