
काठमाडौं, चैत ४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदका सम्पूर्ण गतिविधिहरु रोक्न दोस्रोपटक निर्देशन जारी गरेको छ ।
राखेप सदस्यसचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले खेलकुदका सबै गतिविधि एक साताको लागि रोक्ने निर्णय गरेको राखेपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्वभर ‘कोरोनाभाइरस’को संक्रमण बढिरहेको बेला नेपालमा पनि सावधानीस्वरुप खेलकुद प्रतियोगिताहरु रोकिएको हो ।
राखेपले खेलकुद प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
राखेपले १० दिनको अवधिमा जारी गरेको यो दोस्रो निर्देशन हो ।
यसअघि, गत फागुन २२ गते राखेपका प्रशासन प्रमुख कुलबहादुर थापाले सम्पूर्ण खेल गतिविधि स्थगित गर्न सूचना जारी गरेका थिए ।
राखेपको पछिल्लो निर्देशनले आसन्न टोकियो ओलम्पिकको लागि नेपालको तयारी प्रभावित हुने भएको छ । ओलम्पिक छनोटको लागि कराँते र तेक्वान्दो हाल बन्द प्रशिक्षणमा रहेका छन् ।
यसैगरी, ‘एन्फा’को आयोजनामा चलिरहेको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता पनि प्रभावित हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्