पोखरा, चैत १ । विश्वव्यापी महामारीको रुप लिँदै गएको ‘कोरोनाभाइरस’को संक्रमणविरुद्ध गण्डकी प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ ।
शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोनाविरुद्ध लड्न प्रदेश सरकारसँग एक अर्ब रुपैयाँ निकासा गर्नसक्ने क्षमता रहेकोसमेत जानकारी दिए ।
महामारीको जोखिमविरुद्ध आवश्यक तयारी गर्न मुख्यमन्त्री संयोजक रहने गरी उच्चस्तरीय निर्देशन समितिलगायतका १० ओटा विषयगत समिति पनि गठन गरिएको छ ।
प्रदेश राजधानीसमेत रहेको पोखराका विभिन्न पाँच अस्पतालमा १०० ‘आइसोलेसन वार्ड’ तयार पारिएको छ भने ‘क्वारेन्टाइन’स्थलको व्यवस्थापनका लागि स्थान खोजी भइरहेको छ ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा कोरोनासम्बन्धी विविध किसिमका भ्रमपूर्ण सूचना प्रवाह भइरहेको भन्दै प्रदेश सरकारले सचेत हुन पत्रकारलाई आग्रहसमेत गरेको छ ।
प्रदेशमा खाद्यान्नलगायतका अत्यावश्यकीय वस्तुको आपूर्तिका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ ।
यस्तै, कोरोना संक्रमणको आशंकामा पोखराका विभिन्न अस्पतालमा आएका पाँचजना बिरामीको नमुना संकलन गरी पठाइएकोमा दुईजनाको ‘नेगेटिभ’ देखिएको छ । बाँकी तीनजनाको नतिजा आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
‘क्वारेन्टाइन होम’का लागि स्वास्थ्य तालिम केन्द्र, पोखरालाई पहिलो चरणमा उपयोगका लागि उपयुक्त ठहर गरिएको छ ।
गण्डकी प्रदेशमा हवाई तथा स्थलमार्ग हुँदै प्रवेश गर्नेहरुको स्वास्थ्य चेकजाँच प्रक्रियाका लागि नौओटा ‘हेल्प डेस्क’ खोलिने भएको छ ।
हवाईमार्ग हुँदै पोखरा भित्रिनेहरुको लागि पोखरा विमानस्थल र मुस्ताङको लोमान्थाङमा हाल हेल्प डेस्क सञ्चालन गरिएकोमा प्रदेशभरका विभिन्न जिल्लामा समेत सो विस्तार गरिने तयारी रहेको जनाइएको छ ।
उता, निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म कोरोनाबाट मुक्त रहेकोले त्रसित हुनुपर्ने अवस्था नरहेको जानकारी आएको छ ।








प्रतिक्रिया दिनुहोस्